झापा । माङहिम(मन्दिर) उद्घाटनको १७ महिनापछि झापाको अर्जुनधारा–११स्थित किरातेश्वर हाङसाम थेवा युमा माङहिममा पूजाअर्चना शुुरु भएको छ । २०७८ साल मंसीर २६ गते किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रा हाङ्मा लिङ्देनबाट संयुक्तरुपमा उद्घाटन भएको उक्त माङहिममा पूजारी अभावमा पूजाअर्चनाको कार्य स्थगित भएको थियो ।पूजारीको व्यस्थापनसँगै यही उभौली पर्वको अवसरबाट माङहिममा पूजाअर्चनाको कार्य सुरु भएको किरात धर्म साहित्य उत्थान संघ अर्जुनधाराका सचिव एवम् महागुरु फाल्गुनन्द लिङदेन स्मृति प्रतिष्ठानका सदस्य मोहन सुब्बाले जानकारी दिए । “हालको अवस्थामा प्रत्येक हप्ताको मंगलबार र शनिबारलाई पूजाअर्चनाको दिन तोकेका छौं भने आगामी दिनमा नियमित गर्ने हाम्रो लक्ष्य रहेको छ ।”–उनले प्रष्ट पारे ।

त्यसैगरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले स्थापना भएको माङहिममा नियमित पूजाअर्चनासँगै अन्य कार्यको लागि अक्षयकोष स्थापना गर्न आफूहरु जुटेको वडाध्यक्ष एवम् प्रतिष्ठानका कोषाध्यक्ष खगेन्द्र इङनामले बताए । प्रतिष्ठानकोतर्फबाट हाल फिपराज कुरुम्वाङलाई पूजारीको जिम्मेवारी तोकिएको छ ।यसैबीच मंगलबार एक कार्यक्रमको आयोजना गरि माङहिममा पूजाअर्चनाको कार्य सम्पन्न गरिएको थियो । पूजारी कुरुम्वाङले माङहिम परिसरमा रहेको किरात धर्मका प्रबद्र्धक एवम् १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको पूर्ण कदको शालिकमा र माङहिममा पूजाअर्चना गरेका थिए ।किरात याक्थुम चुम्लुङ अर्जुनधाराका अध्यक्ष तिलसिंह माङमू लिम्बूले माङहिममा हुने पूजाअर्चनाको कार्यमा सहभागी भइदिन हुन सबैलाई आव्हान् गरेका छन् । कार्यक्रममा चुम्लुङका पूर्व उपाध्यक्ष सन्तोष नेम्वाङ, प्रतिष्ठानका अध्यक्ष शेरबहादुर इङनामलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia