उर्लावारी । मोरङ कारागारका कैदीबन्दीले जेलरविरुद्धको आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरूले जेलर धुब्रप्रसाद कोइरालाको सरुवा हुनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् । उनीहरू चार दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । टाउकोमा कालो पट्टीबाँधेर जेलरविरुद्ध विभिन्न नारा लेदिखएका प्लेकार्ड उनीहरूले बोकेका छन् ।जेलर कोइरालाले अनावश्यक दुःख दिने गरेको र रकम माग्ने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।विरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने, नदिएमा उपचारका लागि जान नदिने गरेका कारण आन्दोलन गर्न बाध्य हुनुपरेको कैदीबन्दीले बताएका छन् ।उनीहरूले ‘घुसखोर, भ्रष्ट्राचारी, कमिसनखोर जेलर चाहिँदैन’, ‘मोरङ कारागारबाट भ्रष्ट्राचारी जेलरको तत्काल सरुवा गर’, ‘कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य बस्तुमा जेलरले कमिसन माग्न पाइँदैन’, ‘उपचार गर्न जाँदा रकम माग्न पाईँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।तीन दिनदेखि पुरुष कैदीबन्दिहरूले आन्दोलन गर्दै आएक भएपनि आजबाट भने महिला कैदीबन्दीहरू पनि आन्दोलित भएका छन् । मोरङ कारागारका जेलर कोइरालाको सरुवा नभएसम्म आन्दोलन जारी राख्ने बन्दी नविन सुवेदीले बताए ।जेलर कोइराला मोरङ कारागार आए देखी कैदीबन्दीहरूलाई विभिन्न वहानामा रकम अशुल्ने गरेका कारण बाध्य भएर आन्दोलन गर्नु परेको सुवेदिले बताए । मोरङ कारागारका जेलर कोइराला यो विषयमा खुलेर बोल्न चाहाँदैनन् । उनले यो सबै आरोप मात्रै भएको बताउँछन् ।










