धरान । धरानकी एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेर फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार गरेर हत्या गरी फरार धनकुटा शहिदभूमि गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।उनीहरुले ललितालाई २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा राखेर पालैपालो जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि फरार उनीहरुलाई १६ वर्षपछि पक्राउ गर्न धरान प्रहरी सफल भएको डीएसपी मल्लले बताए ।

इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई धनकुटाको शहिदभूमि गाउँपालिकाबाट पक्राउ गरी सार्वजनिक गरेको छ । दुबै अभियुक्तहरुले विवाहित महिला ललितालाई बलत्कार गरी हत्या गरेको स्विकार गरेको प्रहरीलाई बयान दिएका छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालिएको डीएसपी मल्लले बताए ।










