मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन् । मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाललाई विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा आज (शनिबार) बिहान ६ः५० बजेतिर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

ढकाल सोही विद्यालयको लेखापाल रहेको खुलेको छ । प्रहरीका अनुसार ढकालको घर र विद्यालय नजिकै छ । शरीरमा दन्किएको आगोले पोलेर पीडाले चिच्याइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी र स्थानीयले शौचालयबाट उद्धार गरेर शरीरमा बलिरहेको आगो निभाएको र आगोले शरीरका अधिकांश भाग जलेको प्रहरीले जनाएकाे छ ।

 गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । घटनास्थलबाट चिफ नामक किटनाषक विषादीको बट्टा र पेट्रोलको गन्ध आउने दुईवटा बोतल प्रहरीले फेला परेको छ । घटनास्थलमा भेटिएका बोतलबाट पेट्रोल चुहिरहेको थियो ।

घटनास्थलको प्रकृति हेर्दा सुरुमा किटनाषक विषादी सेवन गरेपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर खन्याउँदै शरीरमा ढकाल आफैले आगो लगाए जस्तो देखिने डीएसपी दाहालले जानकारी दिए । उनले भने, ‘घटना कसरी भयो भन्ने बारेमा यकिन भइसकेको छैन । तर, विषादी सेवनपछि पेट्रोल खन्याएर शरीरमा आफैंले आगो लगाई आत्महत्याको प्रयास गरेको हुनसक्छ ।’

घटनाको करण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको दाहालले बताए । उनका अनुसार प्रहरी घटनास्थल पुग्दा विद्यालयको लेखा शाखा खुल्लै थियो । ढकालले प्रयोग गर्दै आएको प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकल शौचालय नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia