फिदिम । असार २ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुगेको छ ।पहिरोका कारण ९५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले बाढीले घर बगाउँदा ४४७ जना विस्थापित भएको बताउनुभयो ।विस्थापित हुनेमा सबैभन्दा धेरै याङवरक र फालेलुङ गाउँपालिकाका नागरिक हुन् । असार ३ गते मध्यरातमा आएको बाढीका कारण जिल्लामा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना बेपत्ता भएका छन् ।पहिरोका कारण जिल्लाका विभिन्न पुलमा लगाएका १५ वटा पुलमा क्षति पुग्नका साथै तीन वटा विद्युत कम्पनीमा बिजुली उत्पादन ठप्प भएको छ । बाढीले हेवा र तमोर खोलाका पुल बगेका कारण राहत र उद्धारमा समेत कठिनाइ भइरहेको छ ।









