संखुवासभा । सखुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेंवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो ।चैनपुर–४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले सुपर हेंवाखोलमा हाइड्रोपावरका १७ मजदुर बेपत्ता बनाएको थियो ।
शव हाइड्रोपावरको टनेलभित्र फेला परेको थियो । थारुको शव आज आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा पोष्टमार्रटम गरिएको छ । बाढीपहिरामा परेको अन्य १८ अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । तीमध्ये तीन जनाको शव हालसम्म फेला परिसकेको छ । दुई वर्षसम्म नभेटिएको अवस्थामा मृतक मान्ने प्रावधान छ ।
प्राकृतिक प्रकोपको हकमा नेपाल सरकारले नै निर्णय गर्नुपर्छ । बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घर परिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले तीन वटा पक्की पुलमा क्षति पुर्याएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौको क्षतिको भएको छ ।











