इटहरी । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण सरेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्यले पुनः मन्त्रीमा दाबी गरेपछि बुधबार बिहान हुने भनिएको थापाको शपथ ग्रहण बेलुका ५ बजेका लागि सारिएको हो ।

मुख्यमन्त्री थापाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीका १–१ जनालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए । माओवादीले सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णय गरेको थियो । तर, अन्तिम समयमा प्रधानमन्त्रीका ज्वाइँ आचार्यले मन्त्रीमा दाबी गरेपछि शपथ ग्रहण सरेको हो । आचार्य यसअघिका दुवै सरकारमा मन्त्री थिए ।

माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय लाग्ने भएकाले शपथ ग्रहण कार्यक्रम सारिएको नव नियुक्त मुख्यमन्त्री थापाले बताए । अहिले गठबन्धन दलको बैठकले कार्यविभाजनको निर्णय गर्ने उनले बताए ।

माओवादी संसदीय दलले गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा शपथग्रहण गराउने निर्णयमा पुगिसकेको बेला आचार्यले आफू नै मन्त्री बन्ने दाबी गरेपछि विवाद भएको हो । कांग्रेसबाट अघिल्लो सरकारमा बिना विभागीय मन्त्री रहेका प्रदिपकुमार सुनुवार र समाजवादी कमलप्रसाद जबेगु मन्त्रीमा जाने दलहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia