बिराटनगर । कैदीबन्दीलाई रासन बापत उपलब्ध गराउने चामल बाहिर बजारमा बिक्री गरेको सूचना आएपछि कारागार प्रशासनले छानविन सुरु गरेको छ । कारागार प्रशासनले वितरण गरिसकेपछि चामल बिक्री गर्ने गरेको सूचना आएपछि प्रशासनले छानविन सुरु गरेको हो ।

कारागारले कैदीबन्दीलाई सिदावापत प्रतिव्यक्ति दैनिक सात सय ग्राम चामल र ८० रूपैयाँ नगद उपलब्ध गराउँछ । मोरङ कारागारमा १० दिनका लागि एकैपटक चामल वितरण गर्ने गरिएको छ ।

नेपाल खाद्य संस्थानबाट ल्याएर कान्छी मन्सुली (अरुवा) चामल कैदीबन्दीलाई उपलब्ध गराउने गरिएको हो । महिला र पुरुष गरेर तीन सय क्षमताको कारागारमा सोमबार एक हजार ५३ जना कैदीबन्दी रहेको जेलर कृष्ण खड्काले बताए । उनका अनुसार कारागारमा दैनिक सात सय किलोग्रामभन्दा बढी चामल खपत हुने गरेको छ ।

‘दैनिक सम्भव नहुने हुँदा कारागार प्रशासनका तर्फबाट कैदीबन्दीलाई १० दिनका लागि एकैपटक चामल उपलब्ध गराउने गरिन्छ,’ उनले भने,‘ उनीहरुका लागि चामल राख्न कारागारभित्र एउटा गोदामकै व्यवस्था छ । त्यहाँबाटै निकालेर प्रयोग गर्ने हुन् । गोदामको चाबी चौकीदारसँग हुन्छ ।’ गोदाममा राखिएको चामल निकालेर कर्मचारीकै मिलेमतोमा बिक्री गर्ने गरिएको कैदीबन्दीको गुनासो छ ।

‘कारागार प्रशासनले सबैलाई एउटै गुणस्तरको चामल उपलब्ध गराउने हो । तर, सबै जनाले भात खाँदैनन् । कसैले अरु नै चामलको भात तथा रोटी एवं फलफूल खान्छन्,’ उनले भने, ‘कारागारले दिएको चामल नखानेले बाहिरबाट सट्टापट्टा गर्ने गरेका छन् । व्यवहारिक समस्या हेरेर आवश्यकता अनुसार साट्नलाई कारागार प्रशासनले सहजीकरण गरिदिन्छ । कैदीबन्दीलाई कारागारले नै दिएको चामल तिमिहरुले खानुपर्छ भनेर बाध्य बनाउन सकिँदैन ।’

कैदीबन्दीका लागि भनेर उपलब्ध गराइएको चामल बजारमा बिक्री गर्ने गरेको आशंकामा छानबिन एवं अनुसन्धान अघि बढाइएको जेलर खड्काले बताए ।
प्रक्रिया पूरा नगरिकन गोदामबाट चामल बाहिर लैजान खोजेको पाइएपछि कर्मचारीको भूमिका शंकास्पद एवं विवादास्पद देखिएको उनको भनाइ छ । यस प्रकरणमा कारागारका कार्यालय सहयोगी शिवचरण सिंह मुछिएका छन् । करारमा कार्यरत सिंह कारागारमा २० वर्षदेखि कार्यरत छन् ।

कारागारमा कैदीबन्दीलाई खानाको प्रबन्ध गर्न सातवटा अलगअलग मेस छन् । एउटा मेसमा सय जनाभन्दा बढीले खाना खान गरेका छन् । सट्टापट्टा गर्ने बहानामा कारागार प्रशासनलाई थाहा नदिइकन चामल बाहिर लैजान खोजेपछि बिक्री गर्ने गरेको आशंकामा सिंहलाई जिम्मेवारीबाट हटाएर साउन २४ गतेबाट छानबिन अघि बढाइएको जेलर खड्काले बताए ।

‘चामल बाहिर लैजान खोजेको कुरा कारागार प्रशासनलाई जानकारी नै थिएन । बिना अनुमति लैजान लागेका रहेछन्,’ उनले भने, ‘चामल लैजान कारागारभित्र पिकअप गाडी छिराएको पाइयो । कति चामल लैजान खोजेका थिएभन्ने यकिन हुन बाँकी छ ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia