इटहरी । सुनसरीको इटहरी स्थित नेपाली मधेसी समाजको सहकार्यमा मधेसी महिला मञ्चले चौथो जितिया सांस्कृतिक पर्व भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य , जातीय पहिरन सहितकाे कलाहरू प्रस्तुत गरिएको थियो ।
नेपाली मधेसी समाजका अध्यक्ष राजकुमार साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुनसरी क्षेत्रबाट ४ सय बढी मधेसी समुदायको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उनीहरूले एक आपस बिच अङ्गालो हालेर सद्भाव साटासाट गर्नुका साथै एेतिहासिक पर्वको शुभकामना पनि आदान प्रदान गरेका थिए ।
इटहरी छैठ पर्व सेवा समितिका संस्थापक अध्यक्ष तथा कोसी प्रदेश उद्योग वाणिज्य सङ्घका सदस्य राजु रायकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा हाेटल व्यवसायी सङ्घ इटहरीका उपाध्यक्ष तथा युवा समाजसेवी प्रकाश महतोले शुभकामना मन्तब्य राखेका थिए । सधैँ भरी घर भित्रेका काममा मात्रै सीमित रहने मधेसी महिला , आमा दिदी बहिनीहरूलाई वर्षका एक दिन सबै जना सँग जम्का भेट गराउने र पर्व सँगै खुसी साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक मधेसी महिला समाजकी काैशीला कुमारी साहले बताइन ।









