इटहरी । समाज परिवर्तनका निमित्त विभिन्न क्षेत्रमा रही विशेष याेग्दान पुर्याउने इटहरीकी ४ जना सहित काेशी प्रदेशकी ८ जना महिला नेतृहरूलाई इटहरीमा विशेष सम्मान गरिएको छ । महिला विकाश केन्द्रले आयोजना गरेको प्रथम काेशी प्रदेश नव देवी सम्मान कार्यक्रम मार्फत उनीहरूलाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको हो ।
उनीहरूलाई विभिन्न ९ शीर्षकमा नव देवी सम्मान कार्यक्रम मार्फत विशेष सम्मान गरिएको हो । स्वास्थ्य क्षेत्रमा विशेष याेग्दान पुर्याएकाे भन्दै इटहरी मेडिकल हलका सञ्चालक बलबहादुर न्यौपाने र उनकी श्रीमती झरना न्यौपानेलाई शक्ति अवार्ड मार्फत सम्मान गरिएको छ भने समाजमा सदैव सकारात्मक सन्देश प्रवाह गर्नुका साथै कुशल नेतृत्व सम्हाल्न सक्षम रहेको भन्दै नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खडका (भट्टराई)लाई सरस्वती अवार्डबाट सम्मान गरिएको छ ।
त्यस्तै कला तथा मनोरञ्जनको क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नाम राख्न सफल गायिका गङ्गा गौतमलाई महामाया अवार्डबाट सम्मान गरिएको छ । त्यस्तै काेशी प्रदेशलाई सडक मानवमुक्त बनाउने अभियान सहित सामाजिक क्षेत्रमा हुने बिकृिती विसङ्गति विरुद्ध सधैँ लडिरहने साहसी महिलाको रूपमा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललाई करुणा अवार्ड मार्फत सम्मान गरिएको छ ।
त्यस्तै समाज परिवर्तन कालागि विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रिना घिमिरे, नजमुल खान, कुन्ती गुरुङ, कृष्णा अधिकारी र सीता श्रेष्ठलाई क्रमशः अन्नपूर्ण, भगवती,भवानी,दुर्गा,र लक्ष्मी अवार्डबाट सम्मानित गरिएको हो ।कार्यक्रम महिला विकाश केन्द्रकी देविका भण्डारीको संयोजकत्वमा सम्पन्न भएको थियो भने सो कार्यक्रमको परिकल्पनाकार सृजना सिंह याेञ्जन रहेकी थिइन ।
कार्यक्रममा गायिका गङ्गा गौतमले आधुनिक तथा लोक गीतहरू गाएर उपस्थित अतिथिहरूलाई मनोरञ्जन दिलाएकी थिइन भने बिच बिचमा विभिन्न सांस्कृतिक तथा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा सम्मानित हुने ८ जना महिलाहरूले समाजमा गरेको याेग्दानहरूकाे बारे चर्चा सहितको भिडियोहरू प्रस्तुत गरिएको थियो ।








