भोजपुर । भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनःस्थापना गरिएको छ । नेपाली सेनाले यहाँको जीर्ण बनेको मन्दिरको पुनर्निर्माणपश्चात निशान स्थापना गरेको हो ।भोजपुरको इतिहास बोकेको निशान भवगती मन्दिरको गत वर्ष नेपाली सेनाले पुनर्निर्माण गरेको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा १८२६ मा स्थापना गरेको मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्धारपश्चात मन्दिरमा निशान पुनःस्थापना गरिएको हो ।

मन्दिरमा निशान पुनःस्थापना गर्दै नेपाली सेनाका पूर्वी पृतना हेडक्र्वाटरका पृतनापति उपरथी आशबहादुर तामाङले सेनाले पौराणिक र इतिहास बोकेका ठाउँको संरक्षण गर्दै लैजाने नीतिअनुसार मन्दिरको संरक्षणसँगै निशानको पुनःस्थापना गरिएको बताए । सेनाले धार्मिक, सांस्कृतिक तथा गढीहरूको संरक्षणको क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ । ‘सेनाले पौराणिक महत्व र इतिहास बोकेका स्थलको संरक्षण गर्दै आएको छ’, उनले भने, ‘यो मन्दिरको संरक्षणसँगै निशानको पुनःस्थापना गरिएको छ । आगामी दिनमा संरक्षण तथा विकासमा स्थानीयवासीसँगै स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।’

इतिहास बोकेको मन्दिरको संरक्षणसँगै निशान पुनःस्थापना गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । मन्दिरको पुनःस्थापनाले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीयवासी विनम श्रेष्ठले बताए । ‘यो भोजपुरको इतिहास बोकेको मन्दिरको पुुनःनिर्माणसँगै निशानको पुनःस्थापना गरिएको छ’, उनले भने, ‘सेनाले जीर्णोद्धारपश्चात निशान पनि राखेको छ । यसले यहाँको इतिहास संरक्षणमा टेवा पुग्ने छ ।’

गरुडदल गुल्म रहँदासम्म यहाँ भव्यरूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हुँदै आएको स्थानीयवासीको भनाइ छ । विसं २०३९ मा यहाँबाट गुल्म स्थानान्तरण भएको थियो । गुल्म स्थानान्तरण भएसँगै आफ्नो निशान लगेपछि क्रमिकरूपमा यो चलन लोप हुँदै गएको स्थानीय जानकार जीवन श्रेष्ठले बताए । पुनः निशान भगवतीको स्थापनापछि इतिहासलाई जोगाउन सहयोग पुगेको उनको भनाइ छ ।

गरुडदल गुल्म २०२० साल चैतदेखि २०३९ साल फागुनसम्म भोजपुरमा तैनाथ रहेको थियो । यहाँबाट स्थानान्तरण भएपछि तीन पटकको प्रयासपछि मात्र निशान बाहिर लैजान सफल भएको मन्दिर संरक्षण समितिका अध्यक्ष डम्बर श्रेष्ठले बताए । विसं २०६८ मा धेरैपटकको प्रयासपछि यहाँको निशान पाल्पा लगिएको थियो । दुई पटकसम्म निशान लिन आएको हेलिकोप्टरको स्टार्ट बन्द भएपछि तेस्रो पटकको प्रयासमा मात्र स्थानान्तरण गरिएको उनको भनाइ छ । ‘तत्कालीन समयमा यहाँबाट निशान लैजान समस्या भएको थियो’, उनले भने, ‘तीन पटकको प्रयासपछि मात्र निशान यहाँबाट अन्य ठाउँमा लैजान सेना सफल भएको थियो । स्थानीयवासीको मागअनुसार सेनाको पहलमा पुनःनिशान फिर्ता ल्याउने काम सफल भएको छ ।’

भोजपुर नगरपालिका नगर प्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माण तथा निशान पुनःस्थापना गर्न नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताउँदै मन्दिरको आगामी दिनमा संरक्षण्का लागि पूर्ण स्वामित्व लिन समेत नगरपालिका तयार रहेको बताए । यस्ता इतिहास बोकेका ठाउँहरूको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । मन्दिर जिल्ला कारागारको परिसरमा रहेकाले यसलाई सहजरूपमा स्थानीयले पूजाआजा गर्ने वातावरण मिलाउनमा पहल गर्ने नगरप्रमुख आलेको भनाइ छ ।

‘सबैको साथ सहयोगमा स्थानीयको मागअनुसार मन्दिरसँगै निशान पुनःस्थापना गर्न सफल भएका छौँ’, उनले भने, ‘कारागार परिसरमा मन्दिर रहेकाले सुरक्षाका कारण स्थानीयलाई समस्या छ । यहाँ सर्वसाधरणले सहजरूपमा दर्शन गर्ने वातावरण मिलाउन नगरले पहल गर्नेछ ।’मन्दिरमा निशान स्थापनाले खुसी थपेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । कारागार परिसरमा मन्दिर रहेकाले स्थानीयले विशेष दिनमा मात्र मन्दिर दर्शन गर्दै आएकाले कारागार भवन बनेपछि थप सहज हुने उनको भनाइ छ । स्थानीयलाई सहजरूपमा दर्शन गराउने वातावरण बनाउन सबैले पहल थाल्नुपर्ने उनले बताए ।

गत वर्ष रु २१ लाख २६ हजार चार सय ५४ लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो । नेपाली सेनाबाट रु १५ लाख, स्थानीय तहसँगै विभिन्न सङ्घसंस्था तथा मन्दिर व्यवस्थापन समितिबाट रु पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक स्रोतबाट खर्च गरेर मन्दिरको निर्माणपश्चात निशान पुनःस्थापना गरिएको नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए । मन्दिरको जीर्णोद्धारको काम भने फष्ट रैफल गणको पालामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia