आगामी फागुन ५ गतेदेखि काठमाडौंको दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। फागुन १४ सम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
प्रतियोगितालाई एएफसी वुमेन्स एसियन कप र फिफा वुमन्स विश्वकपको छनोटको तयारीको रुपमा लिएको एन्फाको भनाइ छ। प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ।
सहभागी टोलीमध्ये किर्गिस्तान भोलि र बाँकी दुई टोली फागुन २ मा काठमाडौं आइपुग्ने एन्फाको भनाइ छ। सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान र नेपाली सेनाकी भद्रकाली खेल मैदानमा प्रशिक्षण गर्नेछन्।
प्रतियोगिताको तयारीका हाल लागि ३० सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणामा रहेको छ।
प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ।
प्रतियोगिताको टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ, टिकेटिङ, डिजिटल अधिकार ब्रान्ड डिजिटल लोजिकलाई प्रदान गरिएको छ।प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएकोो छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।प्रतियोगिताको अनुमानित बजेट २ करोड ५० लाख रूपैयाँ रहेको छ।
प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ। नेपालका सबै खेल दशरथ रंगशालामा हुनेछन् भने साँझ साढे पाँच बजे सुरु हुनेछ। लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ।








