२० असार, काठमाडौं। एसएलसीमा कम जीपीए ल्याउने विद्यार्थीले पनि यस बर्ष प्राविधिक तर्फको स्वास्थ्य बिषय पनि अध्ययन गर्न पाउने अवसर खुलेको छ । शिक्षा मन्त्रालयले बिषयगत ग्रेड डी र ई ल्याउने, १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थीलाई स्वास्थ्य, कृषि, इन्जिनियरिङ लगायतको बिषयहरु अध्ययन गर्न पाउने व्यवस्था गरेको हो ।
यसअघि एसएलसी फेल भएका विद्यार्थीलाई २९ महिना अध्ययन गराइने विषय अब १८ महिनामा पढ्न पाइने व्यवस्था गरेको सीटीइभीटीका सदस्य सचिव रामहरी लामिछानेले बताए । उनका अनुसार बिषयगत ग्रेड डी र ई ल्याउने र १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थी पनि अनमी, सीएमए, ल्याब एसिस्टेन्ट, आर्युवेद हेल्थ वर्कर, कम्यूनिटी आम्ची एसिस्टेन्ट लगायतको स्वास्थ्य तर्फको कोर्ष अध्ययन गर्न सक्नेछन् ।
यी विषय सीटीइभीटीका आगिंक कलेजमा सस्तोमा अध्ययन गर्न पाइन्छ भने निजी संस्थामा महंगो पर्छ । यस्ता विषयहरु एसएलसीमा आठ वटा बिषयमै डी र ई ल्याएका विद्यार्थीले पनि अध्ययन गर्न सकिने सीटीइभीटीले जनाएको छ । ‘कम जीपीए र ग्रेड ल्यायो भनेर चिन्ता गर्नु पर्दैन,’शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भने,‘प्राविधिक बिषयहरु अध्ययन गर्न पाइन्छ ।’ स्वास्थ्य खबरपत्रिकाबाट









