काठमाडाैं, साउन १३ / शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ। आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो। आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो। स्थायी अध्यापन अनुमति पत्र लिएकाले मात्रै आवेदन दिएका हुन्।
यसपालि निमावि तह तृतीय तहमा आवेदन दिएकामध्ये अनिवार्य नेपालीमा १ सय ६२ शिक्षक मागिएकोमा ४२ हजार ५ सय ९५ ले आवेदन दिएका छन्। त्यस्तै, १ सय ७२ मा गरिएको सामाजिक विषयमा ३४ हजार ६ सय ११ ले आवेदन दिएका छन् भने ३ सय २६ माग गरिएको अंग्रेजीमा २३ हजार ७१ ले आवेदन दिएका छन्।
नेपाली, सामाजिक र अंग्रेजीजस्ता विशष देशभरि नै ठूलो संख्यामा आवेदन आएको भए पनि संस्कृत भाषा, संस्कृत व्याकरण र कम्युटर विज्ञानमा भने निकै थोरै आवेदन परेका छन्। १ जना माग गरिएको संस्कृत भाषामा १० ले आवेदन दिएका छन् भने २ माग गरिएको कम्प्युटर विज्ञानमा ५० र ४ जना शिक्षक माग गरिएको संस्कृत व्याकरणमा १४ जनाले दरखास्त दिएका छन्। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ।








