
इनरुवा साउन १५/नीजि विद्यालयहरुका तर्फबाट इनरुवा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गरिएको छ ।इनरुवामा रहेका नीजि विद्यालयहरुको संगठन युनियन अफ प्राइभेट स्कूल यूपियसले इनरुवा नगरपालिकाका प्रमुख र उपप्रमुख सहित निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना पोखरेल सहित इनरुवाका दश वटै वडाका अध्यक्ष सहितका निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गरिएको थियो ।
यूपियस इनरुवाका अध्यक्ष मनोजकुमार यादव, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष विष्णु कोइराला सहित प्याब्सन सुनसरी सल्लाहकार निरज नेपाल लगायतकाले निर्वाचित जनप्रतिनीधिहरुलाई स्वागत गर्नुका साथै कार्यकालको सफलताको कामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागि वक्ताहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई जनभावना विपरित हुने कुनै कार्य नगर्न सुझाएका थिए । उनिहरुले नगर र नगरवासीको हीतमुखी कार्यलाई अघि बढाउन आग्रह गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मेहता, उपप्रमुख पोखरेल र वडाध्यक्ष तर्फका कालुराम गुरुङले जनभावना वाहिर गएर कुनैपनि कदम नचाल्ने भन्दै विश्वस्त पारेका थिए ।










