२० साउन, काठमाडौं। शिक्षामन्त्री गोपाल श्रेष्ठ यतिबेला निकै चर्चामा छन् । त्यसको एउटा ज्वालन्त उदाहरण हो, शिक्षक सेवा आयोगले भदौ पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उनी तल्लिन हुनु ।
उपप्रधान तथा शिक्षामन्त्रीको गरिमय पदमा बसेका गोपालमान श्रेष्ठ आफैं शैक्षिक माफियासँगको साठगाँठमा यसरी लाग्नु लज्जास्पद भएको जानकारहरु बताउँछन् । स्रोतका अनुसार अस्थायी शिक्षकहरूसँग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएको बताइन्छ ।
गत वर्ष संशोधन भएको शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि ०७२ असोज २ सम्म नियुक्ति लिएका अस्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया एक वर्षभित्र सुरु गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार गत चैत १९ मा आयोगले अस्थायी शिक्षकलाई स्थायी बनाउन विज्ञापन गरेको थियो ।
गत असार २३ मा परीक्षाको मिति तय गरिएकामा मन्त्री श्रेष्ठले अस्थायीको आन्दोलनको कारण देखाउँदै परीक्षा सारेको बताउँदै आएका छन् । आयोगले भदौ ३ गते गर्न लागेको परीक्षा पनि पुनः सार्न उनले आयोगलाई दबाब दिएका हुन् ।
शिक्षामन्त्री श्रेष्ठले हालै आयोग पदाधिकारीलाई मन्त्रालय बोलाएर परीक्षा सार्न दबाब दिएको स्रोत बताउँछ । मन्त्री श्रेष्ठले आयोगका पदाधिकारीलाई शिक्षक महासंघलाई देखाएर परीक्षा सार्न दबाब दिएका थिए । तर, शिक्षक महासंघले पनि तोकिएकै दिन परीक्षा हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठलाई बिहीबार नै ज्ञापनपत्र बुझाएको छ ।
महासंघले ज्ञापन बुझाएपछि चाहिँ मन्त्री श्रेष्ठले आयोगका पदाधिकारीलाई बोलाएर परीक्षा तोकिएकै मितिमा गर्नुपर्छ भनेको उल्लेख गर्दै ती पदाधिकारीले मन्त्रीको कुरा फेरिएको सुनेर आयोग अध्यक्ष गौतमले यो त कुरा बाझिएन र भनेर प्रश्न गरेको बताइन्छ । मन्त्रीको ताल देखेर आफूहरु छक्क परेको ती पदाधिकारी बताउछन् ।









