इनरुवा भाद्र ६/स्थानीय बाढी पीडितको सहयोगार्थ प्याब्सन सुनसरीले इनरुवा नगरपालिकाको कार्यालयलाई नगद १ लाख रकम सहयोग उपलब्ध गराएको छ । बाढी पीडितकालागि सहयोग पुर्याउने उद्येश्य अनुरुप प्याब्सनले इटहरी उपमहानगरापालिका र इनरुवा नगरपालिकालाई एक एक लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार इनरुवा नगरपालिकालाई बाढी पीडितको सहयोगकालागि नगद एक लाख रकम हस्तान्तरण गरिएको प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष विष्णु कोइरालाले बताए । प्याब्सन सुनसरी सहसचिव सरस्वती केसी,सदस्य मनोज यादव र सल्लाहकार निरज नेपालले संयुक्त रुपमा सो रकम इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतालाई हस्तान्तरण गरेका थिए । बाढीले विद्यार्थीका किताब कापीमा क्षति पुर्याएको भए सोको आधिकारीक विवरण प्राप्त गराएको खण्डमा सुनसरी प्याब्सन मार्फत सहयोग उपलब्ध गराइदिने वरिष्ठ उपाध्यक्ष कोइरालाले आश्वासन समेत दिए ।








