इनरुवा भाद्र २३/ ३८औं राष्ट्रिय शिक्षा दिवस सुनसरीमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीय तहमा छुट्टा छुट्टै कार्यक्रम गरिएका छन् ।
स्थानीय तह संरचना लागु भएसँगै जिल्ला शिक्षा कार्यालयको संयोजनमा प्याब्सन, एनप्याब्सन सहित स्रोत केन्द्रहरुले आफु पायकका कार्यक्रम सम्पन्न गरेको जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिए ।
इनरुवामा भने जिल्ला शिक्षा कार्यालय सुनसरीको आयोजनामा मूल समारोह समितिले किशोरी नृत्य प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा शारदा मावि तेस्रो हुँदा भगवती मावि दोस्रो र बालमन्दिर निमावी पहिलो भएको छ । प्रतियोगिताका बिजयी छात्रछात्राहरुलाई युनेस्केको सहयोगमा नगद सहितको पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, नगरपालिका उपप्रमुख जमुना पोखरेल,सांसद सीताराम मेहता, सुरक्षा निकायका प्रमुख लगायत जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।









