इनरुवा असोज ३/न्यायमा पहुँचकालागि सशक्तिकरणको खाँचो महसुस गरी सुनसरीमा रहेको महिला न्यायिक केन्द्रलाई सशक्त बनाउन थालिएको छ । सुनसरीको देवानगञ्ज, हरिनगरा र भोक्राहा गाउँपालिमा बढीमा १५ सदस्यीय रहने गरी महिला न्यायिक केन्द्र गठन गरिएका छन् । न्यायिक केन्द्रले महिला हिंसा न्यूनिकरण, ग्रामिण सचेतना सँगै महिला सशक्तिकरण र न्यायमा महिलाको पहुँचलाई सुनिश्चित बनाउने भूमिका निर्वाह गर्ने गर्छ ।

तीनवटै गाउँपालिकामा रहेको महिला न्यायिक केन्द्रमा आवद्ध सदस्यहरु मध्येबाट समावेशिताका आधारमा प्रतिनिधीत्व हुनेगरी सहभागितात्मक अभियान संचालनमा ल्याइएको छ । ओएसएफको सहयोगमा एम नेपालले मंगलवारबाट दुईदिने न्यायमा पहुँचकालागि महिला सशक्तिकरण तथा लैङ्गिक हिंसा न्यूनिकरण अभियान सम्वन्धी तालिम संचालन गरिएको छ । तालिमको पहिलो दिन सहभागीहरुलाई सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझी र अधिकारकर्मी रमेश भट्टराईले सहजिकरण गरेका छन् । कार्यक्रमले महिलाको सशक्तिकरणको पाटोलाई मजबुत तुल्याउँदै न्यायमा सहज पहुँच र हिंसापूर्वनै स्वयं सचेत र सावधानी अपनाउन सक्षम तुल्याउने आयोजक संस्थाकी अध्यष चुन्नी खातुनको विश्वास छ ।








