काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेट न्यूट्रालिटीको लागि आवश्यक निर्देशिका छिट्टै लागू गर्ने जानकारी दिएको छ । पछिल्ला दिनहरुमा टेलिकम अपरेटरहरु तथा आईएसपीलगायतका अनुमति प्राप्त कम्पनीहरुले फेसबुक/यूट्यूव/ट्विटर जस्ता कुनै निश्चित तोकिएका सामाग्रीहरु (कन्टेन्ट) लाई मात्र प्रबद्र्धन गर्ने प्रवृत्ति बढेको भन्दै प्राधिकरणले नेट न्यूट्रालिटीको लागि नियमन निर्देशिका ल्याउन लागेको जानकारी दिएको छ ।

प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले सिमित कन्टेन्टहरुलाई मात्र प्रबर्द्धन गर्ने कार्यलाई निरुत्साहित गर्न नेट न्यूट्रालिटीको नियमन निर्देशिका बनाउन लागिएको जानकारी दिए । ‘फेसबुक, ट्विटर वा यूट्यूब जस्ता कन्टेन्टहरुको प्रबद्र्धन गर्ने प्रचलन नेपालमा पनि बढिरहेको छ, यस्तो प्रवृत्तिलाई हटाउन नियमनको आवश्यकता भएको हो,’ प्राधिकरणका वरिष्ठ निर्देशक खनालले क्लिकमाण्डूसँग भने ।

उनकाअनुसार छिमेकी मुलुक भारतमा पनि नेट न्यूट्रालिटीको नियमन रहेको र अन्य देशहरुले पनि सिमित कन्टेन्ट मात्र प्रबद्र्धन गर्न रोक लगाउने गरेका छन् ।प्राधिकरणमा नेट न्यूट्रालिटीको नियमन खाका बनाउने जिम्मा पाएका परामर्शदाता प्रवीण सुवेदीले बुझाएको मस्यौदाको अध्ययन भईरहेको वरिष्ठ निर्देशक खनालले जानकारी दिए । विज्ञले तयार पारेको रिपोर्ट आएको छ, अब यो अध्ययन गरेर बोर्डमा पेश गरेर पारित भएपछि लागू हुनेछ, उनले भने ।

सो मस्यौदा नियमन आन्तरिकरुपमा गठन भएको समितीले आवश्यक अध्ययन गरेर प्राधिकरणको बोर्डमा पेश गर्नेछ र त्यसपछि मात्र लागू हुनेछ । प्राधिकरणले गएको बैशाखमा नै नेट न्यूट्रालिटीको लागि आवश्यक कानून नभएको हुँदा नियमन खाका बनाउन प्रवीण सुवेदीलाई परामर्शदाताको रुपमा नियुक्त गरेर नियमन खाका बनाउने जिम्मा दिएको थियो । सुवेदीले हालै प्राधिकरणमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रको अध्ययनसहित मस्यौदा बुझाएका हुन् । सो प्रारम्भिक मस्यौदालाई कानूनको अन्तिमरुप दिन करिब १ महिना लाग्ने र त्यसपछि कानूनको रुपमा आउने खनालको भनाई थियो । क्लिकमान्डुबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia