६ पौष। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेश्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक परीक्षाको मिति सार्दै गएको असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाई गरेको छ ।
बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतासले उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले ढिलोमा पुसको तेश्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउनुभयो । परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए । यसअघि गएको मंसिर १८ गते बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको थियो । आंशिक परीक्षामा १ लाख १ हजार ३७५ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ७४ जना अर्थात ३५ दशमलब ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।








