के तपाइलाई घर बनाउनु भन्दा पहिले नै त्यसको वस्तुगत नमुना हेर्न मन छ? वा आफूले परिकल्पना गरेको कुनै वस्तुहरु भौतिक रुपमै निर्माण गर्न मन छ ? केही वर्ष अगाडिसम्म असम्भव जस्तै लाग्ने यो कुरा अहिले नेपालमै सम्भव छ। थ्रिडी प्रिन्टरले यो कुरा सम्भव बनाएको हो। सामान्य प्रिन्टर त सबैले देखेकै छौँ, जसले कम्प्युटरमा बनाएको आकृति कागजमा उतार्ने काम गर्छ तर थ्रिडी प्रिन्टरले नमुना वस्तु नै भौतिक रुपमा दुरुस्त निकाल्ने काम गर्छ।

यसको लागि पहिले चित्र वा वस्तुको नमुना बनाइन्छ। त्यसलाई कम्प्युटर सफ्टवेरको माध्यमबाट थ्रिडी मोडलमा उतारिन्छ। त्यो वस्तुलाई प्रिन्टरमा पठाइन्छ र प्रिन्टरले हुबहु निर्माण गर्छ। यो प्रिन्टरमा फ्युज डिपोजिसन मोडलिङ, एबिएस, पिएलए, लगायत धेरै प्रकारका कच्चा पदार्थ प्रयोग गर्न सकिन्छ। आफूले बनाउन लागेको वस्तुको कार्य हेरेर कच्चा पदार्थ प्रयोग गरिन्छ।

थ्रिडी प्रिन्टिङ सन् १९८० को दशकबाट सुरु भएको जानकार बताउँछन्। उनीहरुका अनुसार त्यो बेलामा उद्योगको पार्टपुर्जा बनाउनको लागि प्रयोग हुन्थ्यो यो प्रिन्टरले धेरै महँगो र मेटलको सामान बनाउने हुँदा सामान्य व्यक्तिको पहुँचमा थिएन।

२००६ पछि भने धेरै प्रचलनमा आएको हो। हिजोआज मेटलकै सामान बनाउँदा पनि सुरुमा परीक्षणको लागि यस्ता थ्रिडी प्रिन्टरको प्रयोग गर्ने गरिन्छ। नेपालमा इन्जिनीयरिङ प्रोजेक्टका सामानहरु बनाउन, घरको डिजाइनहरु, स्पेयर पार्टस, आदीको लागि यसको धेरै प्रयोग हुने गरेको जेनर टेक्नोलोजीका प्राविधिक अधिकृत रामचन्द्र थापा बताउँछन्।

‘नेपालमा यसको प्रयोग सुरु भएको धेरै भएको छैन भूकम्प पछि हामीले मेडिकल प्रोजेक्टमा काम गर्न सकिन्छ कि भनेर भित्र्याएका हौँ’ उनले भने ‘त्यो बेला काठमाडौं विश्व विद्यालयमा एउटा मात्र थ्रिडी प्रिन्टिङ मेसिन थियो, रिसर्चको लागि मात्र प्रयोग हुन्थ्यो, सामान्य नेपाली त यसको प्रयोग र फाइदाको बारेमा अनविज्ञ नै थिए।’

थ्रिडी मेसिन विशेषतः नेपालमा इन्जिनियरिङ विद्यार्थीहरुले उपकरणका पार्टसको बस्तुगत नमुना बनाउन, आफ्ना प्रोडक्टको ‘मास्टर पिस’ बनाउन, आर्किटेक्चरले भौतिक संरचनाका नमुनाहरु बनाउन, र सामान्य रुपमा आफ्नो दिमागमा आएको नमुना कम खर्चमा बनाउन उपयोगी हुने थापाले जानकारी दिए।

थ्रिडी प्रिन्टरबाट सामान बनाउँदा समय भने अलि धेरै लाग्छ। मेसिनको मसिनो रेसाले जटिलता पूर्वक सामान बनाउने हुँदा समय लाग्ने प्राविधिकहरु बताउँछन्। विकसित देशमा थ्रिडी मेसिनले ठूला ठूला सामान बनाइसकेका छन् तर नेपालमा हालसम्म व्यवसायिक रुपमा ३० सेन्टिमिटर लम्बाई, ३० सेन्टिमिटर चौडाई र ४० सेन्टिमिटर उचाईसम्मको बस्तु बनाउन सक्ने उपकरण मात्र उपलब्ध रहेको थापाले बताए।

नेपालमा अहिले यो विशेषतः बिग्रिएका मेडिकल सामाग्रीको महँगो पार्टसहरु बनाउन, पुनर्निमार्णका घरको वस्तुगत नमुनाहरु बनाउन र आफूले कल्पना गरेको गिफ्ट बनाउन प्रयोगमा धेरै आइरहेको थापा बताउँछन्।

नेपालमा हाल जेनर टेक्नोलोजीले थ्रिडी मोडल डिजाइन गर्ने, मेसिन बेच्ने, तालिम दिने र बिक्रीपछिको सेवा दिने काम गरिरहेको छ। यो मेसिनको मूल्य ७० हजार देखि २ लाख १० हजारसम्म पर्छ। सामान बनाउँदा लाग्ने समय र कच्चा पदार्थको खपतको हिसावले मेसिनले बनाएको वस्तुको मूल्य निर्धारण हुन्छ। सामान्य हिसाव गर्दा आफैले डिजाइन गरेको वस्तु बनाउँदा घन्टाको २ सय ८० देखि ३ सय सम्म पर्ने टेक्नोलोजीले जनाएको छ। हाल नेपालमा करिव ४० भन्दा धेरै मेसिन प्रयोगमा रहेको अनुमान छ।सेतोपाटीको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia