काठमाडौं, २१ साउन । पहिलोपटक कक्षा १२ को नतिजा लेटर ग्रेडिङमा सार्वजनिक भएपछि विश्वविद्यालयले भर्नाको मापदण्ड तयार गरेका छन् ।त्रिभुवन विश्वविद्यालयमा विभिन्न संकाय र संस्थानले छुट्टाछुट्टै मापदण्ड तयार गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अधिकांश संकायले साधारण विषयमा डी प्लस र प्राविधिक विषयमा सी र सी प्लस ग्रेड ल्याएको हुनुपर्ने मापदण्ड तोकेका छन् । एउटै संकायमा पनि विषयअनुसार आवश्यक न्यूनतम ग्रेड फरक छ । मानविकी तथा सामाजिकशास्त्र संकायमा साधारण र प्राविधिक विषयमा फरक मापदण्ड निर्धारण भएको छ ।मानविकी संकायका डिन प्रा। शिवलाल भुसालका अनुसार बिसिएमा भर्ना पाउन सबै विषयमा न्यूनतम ‘सी’ ग्रेड चाहिने मापदण्ड तय गरिएको छ ।
स्नातक तहमा पढाइ हुने मानविकीका ४० विषयमध्ये बिसिएबाहेक सबै विषयका लागि ‘डी प्लस’ ल्याएको हुनुपर्नेछ । कक्षा ११ र १२ मा जुनसुकै विषय पढेका विद्यार्थीले पनि मानविकी संकायमा स्नातक तहमा भर्ना पाउने व्यवस्था छ ।
व्यवस्थापन संकायमा पनि भर्ना पाउनका लागि साधारण र प्राविधिक विषयमा वर्गीकरण गरी छुट्टै मापदण्ड निर्धारण गरिएको छ । कक्षा १२ मा सबै विषयमा न्यूनतम डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन संकायको बिबिएस भर्ना पाउने व्यवस्था गरिएको छ । अन्य सबै प्राविधिक विषयमा भर्ना पाउन न्यूनतम सी ग्रेड चाहिने मापदण्ड निर्धारण गरेको डिन प्राडा डिल्ली शर्माले बताए ।
व्यवस्थापनका बिबिएसबाहेक बिबिए, बिआइएम, बिएचएम, बिबिएम, बिपिए, बिटिटिएम, बिएमएसजस्ता विषय अध्ययनका लागि कक्षा ११ र १२ मा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्नेछ ।विज्ञान तथा प्रविधि अध्ययन संस्थानले विषयअनुसार फरक भर्ना मापदण्ड निर्धारण गरेको छ । बिएससीका लागि कक्षा ११ र १२ मा सबै विषयमा न्यूनतम सी ल्याएको हुनुपर्नेछ । त्यसैगरी, कम्प्युटर साइन्स र फुड टेक्नोलोजीमा भर्ना पाउन न्यूनतम सी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ ।








