काठमाडौं । पुर्खाले सूर्यको छायाँको सहयोगमा विहान दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घरगृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्य कथा बनिसक्यो । विज्ञान प्रविधिमा भइरहेका नयाँ–नयाँ प्रयोगले समयको सूचक ‘घडी’को परिभाषालाई फराकिलो बनाइरहेका बेला नेपालमै परम्परागत घडी ब्यूँत्याउने तयारी गरिएको छ । वरिष्ठ खगोलविद् जयन्त आचार्यले घामको छायाँको सहयोगमा समय यकिन गर्न सकिने ‘नेपाल धुप घडी’ तयार गर्नुभएको हो ।
उहाँले बनाउनु भएका दुई वटा परम्परागत घडीलाई दाङको तुल्सीपुर उप–महानगरपालिका र नेपाल संस्कृत विश्वविद्यालयले प्रयोगमा ल्याउँदैछन् । आगामी एक महिनाभित्र धुप घडी प्रयोगमा आउने बताउँदै तुल्सीपुर उप–उपमहानगरका मेयर घनश्याम पाण्डेले भन्नुभयो–‘एउटा घडी नगरपालिका परिसरमा रहनेछ भने अर्को यहिको राप्ती शान्ति उद्यान परिसरमा राख्ने तयारी गरिएको छ ।’
बैदिकशास्त्रमा भएको विज्ञानलाई आधुनिक विज्ञानसँग जोड्दै नयाँ पुस्तालाई परम्परागत अभ्यास बुझाउन यस्तो पहल अघि बढाइएको उहाँले जानकारी दिनुभयो। उपमहानगरपालिका र सो विश्वविद्यालयको संयुक्त सहकार्यमा दाङमा प्राचिन विज्ञानको अध्ययन थलो बनाउने तयारी भइरहेको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।









