इनरुवा। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका सदस्यहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम मंगलबारबाट सुनसरीको इटहरीमा सुरू गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालित विद्यालयका बाल अधिकार चेतना समूहका सदस्य, संरक्षक शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले बताउनुभयो ।
तालिममा इन्सेक अभियान र मानव अधिकार, बाल अधिकार, नेपालको संविधानमा शिक्षाको अधिकार र बालमनोविज्ञान, बालमैत्री विद्यालय र दण्डरहित शिक्षा, बाल भित्ते पत्रिका प्रकाशन, बाल अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका विषयमा प्रशिक्षण दिइरहेको कार्यक्रम फोकल पर्सन बुधदेव यादवले बताउनुभयो । तालिममा बालअधिकार महासंन्धि, बालबालिका सम्बन्धी ऐन तथा नियमावली बारेमा जानकारी, बाल अधिकार चेतना समूहको जिम्मेबारीता तथा योजना निर्माण लगायतका विषयमा प्रशिक्षण केन्द्रित रहेको कार्यक्रम अधिकृत बागमती कट्टेलले बताउनुभयो ।
सरस्वती मावि औरावनी, गढी आधारभुत विद्यलाय भमरी, नेपाल हरि मावि चान्दबेला र मजदुर किसान मावि मधेलीका ३८ जनाको तालिममा सहभागिता रहेको छ । इन्सेक प्रदेश संयोजक सोमराज थापा, जिल्लास्तरीय मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टरार्ई, बागमती कट्टेल र पत्रकार जयकृष्ण यादवले सहजीकरण गरीरहेको फोकल यादवले बताउनुभयो । उदघाटन सत्रमा सरस्वती मावि औरावनीका संरक्षक शिक्षक भगवती दाहाल, गढदेव आधारभुत विद्यलाय भमरीका विमला चौधरी, नेपाल हरि मावि चान्दबेलाका समिर आर्चाय र मजदुर किसान मावि मधेलीका संरक्षण शिक्षक जयप्रकाश दास र पत्रकार जयकृष्ण यादव लगायतकाले तालिमका बारेका बोलेका थिए । तालिम बुधबार सम्पन्न हुने इन्सेकले जनाएको छ ।









