इनरुवा नगरपालिका भित्र संचालनमा रहेका विद्यालयहरुले विद्यार्थीलाई बोझिलो हुने गरी किताबको भारी बोकाउन नपाउने भएका छन् ।
नगर शिक्षा समन्वय इकाईको निर्णय अनुसार निजी विद्यालयका हकमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको हो ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताका अनुसार नगरभित्र संचालनमा रहेका सबै विद्यालयकालागि नियम अनिवार्य गरिएको छ । संस्थागत विद्यालयले आफुपायकका किताब पाठ्यक्रममा समावेश गर्ने र बिद्यार्थीहरुलाई बोझिलो हुने गरी भारी बोकाउने परिपाटीको अन्त्य गर्न लागिएको नगर प्रमुख मेहताले बताए । पठनपाठनमा ल्याइने पाठ्यपुस्तक नेपाल सरकारले तोकेको परिधिभित्र रहेको हुनुपर्ने समेत मेहताले स्पष्ट पारे ।
यसैगरी इनरुवा नगरपालिकाले नगरभित्र संचालनमा रहेका निजी विद्यालयले संचालनमा ल्याएका सवारीसाधनमा एकरुपता ल्याउन पहेंलो रङ्ग अनिवार्य गरेको छ । विद्यार्थी बोक्न प्रयोग हुने सवारीसाधनका चालक दक्ष र अनुभवी हुनुपर्ने र शहरबजार सहित भिडभाड हुने स्थानमा गति सिमित गरी सवारी चलाइनुपर्ने समेत बाध्यकारी नियम लागु गर्न लागिएको छ । प्याब्सन सुनसरी र इनरुवा क्षेत्रमा संचालनमा रहेका निजी विद्यालय संगठन यूपीएसका पदाधिकारी सहित नगर शिक्षा समन्वय इकाई र इनरुवा नगरपालिका प्रतिनिधिबीचको बैठकले त्यस्तो निर्णय गरेको हो । निर्णय लागु गर्ने समवन्धमा सहमति गरिएकाले तत्कालैबाटै कार्यान्वयन भए नभएको अनुगमन गरि अटेर गर्नेको हकमा कार्वाही थालिने नगर शिक्षा समन्वय इकाईका उपसचिव डिल्ली निरौलाले बताए ।
निरौलाका अनुसार नगरभित्र संचालित विद्यालयका हकमा अनुमति तथा कक्षा थप गर्दा भौतिक पूर्वाधार र मापदण्ड पुगेको अवस्थालाई आधार मानिने छ । यसैगरी इनरुवा भित्र रहेका सामूदायिक तथा संस्थागत विद्यालयले अतिरिक्त क्रियाकलाप संचालन गर्दा एकीकृत रुपमा मात्रै गर्न पाइने र अवलोकन भ्रमण र सिकाई आदानप्रदानको व्यवस्था अनिवार्य गरिनुपर्ने भएको छ । सामूदायिक र संस्थागत दुवै विद्यालयको गुणस्तरलाई सुधार गर्दै लैजाने नीति अनुरुप मूल्याङकन पछि मात्रै अनुदान दिने र अनुगमनका क्रममा मापदण्ड विपरित विद्यालय र कक्षा संचालन भएको पाइएमा अनुमती समेत खारेज गर्न सकिने व्यवस्था गरिएको नगर प्रमुख राजन मेहताले जानकारी बताए ।संस्थागत र सामूदायिक विद्यालय दुवैको शैक्षिक गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिनेगरी शिक्षा सुधार रणनीति लागु गर्न लागिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।








