सुनसरीको कोशी गाउँपालिकामा गाई,भैंसी र राष्ट्रिय कुस्ती प्रतियोगिता सँगसँगै आयोजना गर्न लागिएको छ ।गाउँपालिकाको कार्यालयले आज कार्यालय परिषरमा पत्रकार सम्मेलन गरी आयोजनाका बारेमा जानकारी गराएको हो । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार वीपी स्मृति कृषि मेलाको अवसर पारेर प्रतियोगिता संचालन गर्न लागिएको हो । इनरुवा नगरपालिकाको कार्यालयसँगको समन्वय र सहकार्यमा कोशी गाउँपालिकाले आयोजना गर्न लागेको प्रतियोगिता माघ ११ देखी १४ गते सम्म चल्ने छ ।
जसअन्र्तगत माघ ११ गते भैसीं सुन्दरी प्रतियोगिता आयोजना गरिँदै छ । १२ गते गाई प्रतियोगिता आयोजना गरिने बताएको कोशी गाउँपालिकाले माघ १३ गते कोशी कटानको बगरमा राष्ट्रिय कुस्ती प्रतियोगिता गर्न लागिएको अध्यक्ष अन्सारीले बताए । भैंसी प्रतियोगितामा उत्कृष्ठ ठहरिने धनीलाई भैंसीनै पुरस्कार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रथम पुरस्कार वापत प्रदान गरिने भैंसी भने इनरुवा नगरपालिकाले उपलब्ध गराउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले घोषणा गरे । गाई प्र्रतियोगिता सहित अन्य पुरस्कारको व्यवस्था भने कोशी गाउँपालिका र इनरुवा नगरपालिकाले संयुक्त रुपमा बन्दोवस्ती मिलाइने बताइएको छ ।
त्यसैगरी राष्ट्रिय कुस्ती प्रतियोगितामा ७ वटै प्रदेश सहित तीन बिभागीय र आयोजक टिमलाई सहभागि गराउने गरी तयारी थालिएको जिल्ला खेलकुद बिकास समिति सुनसरीका सदस्य बसन्त सुवेदीले जानकारी दिएका छन् । प्रतियोगिता ओलम्पिक नियमका आधारमा खेलाइने सुवेदीले बताए । विभिन्न वजन समूहमा महिला र पुरुष गरी छुट्टाछुट्टै प्रतिष्पर्धा गराइने खेलको बिजेतालाई प्रदान गरिने पुरस्कार रासीभने समितिले तय गरी निर्धारण गरिने बताइएको छ ।










