मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् ।
त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् । पास भएका विद्यार्थीको मार्क्सिटमा पनि फेल भएकाको जस्तो तारा चिह्न राखेर परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको हो । ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत पुनाराम शर्माले दोस्रो सेमेष्टर २०७५ सालमा उत्तीर्ण गरे । तर, उनको मार्क्सिटमा दुईवटा तारा लागेर आयो । दुई वटा तारा लाग्नुको अर्थ हो, उनी दुई पटकसम्म फेल भए ।








