काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समिर बलामी निर्वाचित भएका छन् । काठमाडौंमा हिजो अबेर सम्पन्न २३ औं साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कूल एक सय ५२ मत खसेको थियो । उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी ८३ मतसहित विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मत ल्याए।

यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज र महिलातर्फ सुरक्षा भट्टराई विजयी भए । महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा प्रदीप कार्कीले ७४ मत ल्याए। सचिव खुल्लामा नविन गिरी र सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मनिष कार्की र सह-कोषाध्यक्षमा मनिष दाहाल छन् । अध्यक्ष, महासचिवलगायत अधिकांश पदमा नेकपा (एमाले) निकट प्रेस चौतारी आबद्ध पत्रकार विजयी भएका माधव तिवारीले जानकारी दिए ।








