फेसबुक जति उपयोगी छ, उति नै घातक
८ फागुन, काठमाडौं । सामाजिक सञ्जालको प्रयोग साधारण नेपालीको पहुँचमा समेत पुगिसकेको छ ।
पढेलेखेका युवायुवतीमा मात्रै होइन, धेरैका लागि फेसबुक साथीसँगको सम्पर्क वा सूचना लिने माध्यम बनिरहेको छ । सामाजिक सञ्जालको सदुपयोग पनि कतिले गरिरहेका छन्, तर कतिका लागि यसको प्रयोग घातक पनि बनिरहेको छ । त्यसमा पनि विषेश गरी फेसबुकको सही सदुपयोग नहुँदा यो आपराधिक मनोवृत्ति भएकाका लागि धम्क्याउने गतिलो साधन बनिरहेको छ ।
फेसबुक ह्याक गरेर गर्जो टार्ने वाल्मीकि
गत साउनमा महानगरीय प्रहरी अपराध महाशाखामा एउटा उजुरी आयो । एक युवतीले आफ्नो फसबुक ह्याक भएको र त्यसबाट विभिन्न व्यक्तिलाई गलत म्यासेज पठाउने र रकम असुल गर्ने गरेको भन्दै उजुरी गरेकी थिइन् ।
साइबर अपराध अनुसन्धान गर्ने महाशाखाको टोलीले उजुरीको आधारमा तत्काल उजुरी गर्ने युवतीको फेसबुक ह्याकरको खोजी गर्यो ।
अनुसन्धानमा नेपालगन्जका राहुल वाल्मीकि नाम गरेका व्यक्तिले ती युवतीको आईडी ह्याक गरेको भेटियो । महाशाखाको टोलीले वाल्मीकिलाई पक्राउ गर्यो । पक्राउपछि थप अनुसन्धान गर्दा राहुलले ती युवतीको फेसबुक ह्याक गरेर आफ्नो जीविका चलाइरहेको रोचक तथ्य खुल्यो ।
संगीत समेत सिकाउने राहुलले उनकोमा आइरहने एक युवतीको फेसबुक आईडी ह्याक गरेका थिए । त्यही आईडीमार्फत ती युवतीका अन्य साथीलाई म्यासेज पठाउने र विभिन्न सहयोग माग्ने गरेका थिए । कतिसँग रिचार्जकार्ड माग्थे भने, कतिलाई पैसा सापटी दिन भन्थे ।
त्यही आईडीमार्फत भेटिएका ४५ जनाको फेसबुक ह्याक गरेर वाल्मीकिले आफ्नो गुजारा समेत चलाइरहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
विवाह गर्न नमानेपछि धम्की
हुम्लाका गमन रोकायको करिब एक वर्षअगाडि काठमाडौंकी एक युवतीसँग फेसबुकमार्फत चिनजान भयो । फेसबुकको सम्बन्ध सामान्य कुराकानीमा मात्रै सीमित रहेन, उनीहरू एक अर्कालाई माया गर्न थाले । केही महिनापछि दुवै सँगै बस्न थाले । तर, युवतीले गमन विवाहित भएको थाहा पाइन्, तब सम्बन्ध धेरै टिक्न सकेन ।
सम्बन्ध टुटेपछि गमनले फेसबुकमा अश्लील फोटो ट्याग गरिदिने, विभिन्न म्यासेज पठाउने गरेर समस्या दिन थाले । युवतीले प्रहरीमा उजुरी दिइन् र गमन कारबाहीमा परे ।
नक्कली फेसबुक आईडी बनाइदिने साथी
करिब चार महिनाअघि अपराध महाशाखामा फेसबुकसम्बन्धी एउटा रोचक उजुरी आयो ।
कसैले आफ्नो नक्कली फेसबुक आईडी बनाएर हुनेवाला श्रीमानलाई जथाभावी म्यासेज पठाई हैरान पारेको भन्दै एक युवतीले प्रहरीमा उजुरी गरिन् ।
प्रहरीले अनुसन्धान गर्दा उजुरी गर्न जाने युवतीकै नाम र फोटो राखेर बनाइएको फेसबुक आईडीबाट म्यासेज पठाएको भेटियो ।
महाराजगन्ज बस्ने ती पीडित युवतीको एक बेलायती सेनामा रहेका युवकसँग विवाह हुन लागेको रहेछ ।
यो थाहा पाएपछि उनैकी साथीले इष्र्या गरेर नक्कली आईडीमार्फत ती युवतीको हुनेवाला श्रीमानलाई गलत म्यासेज पठाएको भेटियो । प्रहरीले नक्कली फेसबुक बनाइदिएर आफ्नै साथीलाई धोका दिने ती महिलालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको थियो ।
फेसबुके उजुरीको ओइरो
पछिल्लो समय जति फेसबुक चलाउनेहरूको संख्या बढिरहेको छ, त्यति नै त्यसका पीडित पनि बढेका छन् । फेसबुकले समस्या दिएको भन्दै उजुरी गर्न जानेहरूको संख्या ह्वात्तै बढ्न थालेको छ ।
महानगरीय अपराध महाशाखामा ०६९/७० मा फेसबुकसम्बन्धी ५८ वटा उजुरी परेका थिए । ०७०/७१ मा त्यसको संख्या बढेर ९० पुगेको थियो । तर, पछिल्लो दुई वर्षमा भने यस्ता उजुरी ह्वात्तै बढेका छन । ०७१/७२ मा ३०९ वटा उजुरी फेसबुकसम्बन्धी परेका थिए भने यो वर्ष साउनबाट अहिलेसम्म मात्रै ३३३ उजुरी परिसकेका छन् ।
अपराध महाशाखाका प्रवक्ता एसपी सहकुल थापाका अनुसार पछिल्लो समय ह्याक हुने तथा विभिन्न व्यक्तिको अश्लील तस्बिर ट्याग गरिदिएको भन्दै समस्या लिएर आउनेको संख्या बढेको छ । त्यसमा विशेष गरी युवती बढी पीडित हुने गरेको एसपी थापा बताउँछन् ।
कसरी गर्ने उजुरी ?
महानगरीय अपराध महाशाखा र सीआईबीमा साइबर अपराधको अनुसन्धान गर्ने छुट्टै पिल्लरहरू छन् । यदि कुनै व्यक्तिलाई फेसबुकका कारण समस्या परेको छ वा कुनै आपराधिक समूहले धम्की दिएको छ भने तपाईं सबैभन्दा पहिले नजिकैको प्रहरी कार्यलयमा उजुरी गर्न जानुपर्छ ।
यदि स्थानीय प्रहरीबाट समस्या समाधान हुन सकेन भने काठमाडौंको टेकुस्थित अपराधमहाशाखा पुग्नुभयो भने समस्या समाधान हुन सक्छ ।
पीडित उजुरी गर्न जाँदा एउटा पासपोर्ट साइजको फोटो, परिचय पत्र, इमेल ठेगाना, नक्कली र सक्कली दुवै फेसबुक आइडी र त्यसको लिंक लिएर जानुपर्ने सीआईबीका डीएसपी नरेश मल्ल बताउँछन् ।
इमेल ठेगाना, नक्कली र सक्कली फेसबुक आईडीको आधारमा प्रहरीले नक्कली फेसबुक बनाइदिने वा समस्या दिनेहरूको खोजी गर्छ ।
सीआईबीका डीएसपी नरेश मल्लका अनुसार निवेदकले दिएको सूचना र उजुरीका आधारमा प्रहरीले फेसबुक आईडी तथा इमेल फेसबुकलाई पठाइदिन्छ, उसैले नक्कली हो कि होइन, कहाँबाट बनाइदिएको भन्नेबारे अनुसन्धान गर्छ र प्रहरीलाई सूचना दिन्छ ।
कतिपयले नक्कली फेसबुक आईडी ब्लक गर्न भन्छन्, तर सबै उजुरीलाई ब्लक गर्ने कि नगर्ने फेसबुकमै भर पर्ने डीएसपी मल्लको भनाइ छ ।
विशेष गरेर यौनजन्य विषय र धम्कीका उजुरीलाई भने फेसबुकले सम्बोधन गर्छ । तीबाहेक सबै उजुरीलाई उसले अपराध नमान्न पनि सक्ने डीएसपी मल्ल बताउँछन् ।
कसरी असुरक्षित बनाउने फेसबुक
डीएसपी नरेश मल्लका अनुसार फेसबुकलाई प्रयोगकर्ता स्वयंले सुरक्षित बनाउन सक्छन् । फेसबुक खोल्दा नै त्यहाँ केही मापदण्ड वा सर्तहरू मान्नुपर्ने भनिएको हुन्छ, तर अधिकांशले त्यसको ख्याल नगर्दा समस्या आउने गरेको प्रहरीको भनाइ छ ।
जे पायो त्यही फोटो सेयर नगर्ने, निजी कुराहरू नराख्ने, अरुले ट्याग गर्न नमिल्ने पनि बनाउन सकिन्छ ।
यदि आफ्नो नाममा कसैले नक्कली आईडी खोलिदिएको छ भने त्यसको उजुरी आफैं पनि गर्न सकिन्छ । फेसबुकमा रिपोर्ट भन्ने छ, त्यसमा उजुरी गरे अनुसन्धान गरेर नक्कली आईडी उसैले बन्द गरिदिन्छ ।
हरेक फेसबुक प्रयोगकर्ताले आफ्नो आईडी खोलेर नछाड्ने र त्यसको सही सदुपयोग गर्न सके फेसबुकको समस्याबाट टाढै रहन सकिने डीएसपी मल्लको सुझाव छ ।अनलाईनखबरबाट









