चितवन । चितवनमा एक बाबुले आफ्नी १४ वर्षकी छोरीमाथि पटक–पटक कुकर्म गरेको घटना बाहिरिएको छ । बाबुको पटक–पटकको बलात्कारबाट बसेको ३ महिनाको गर्भ पतन गराएपछि घटना बाहिरिएको हो । उनीहरू कालिका नगरपालिकामा डेरा गरी बस्थे । बाबुले नाबालिग छोरीको गर्भपतन गराएको मावलीले थाहा पाएपछि गत पुस १० गते चितवन प्रहरीमा बलात्कार अभियोगमा जाहेरी दर्ता गराए पनि बाबु अझै पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले बाबु फरार रहेको जानकारी दिएका छन् ।
यसै वर्षदेखि विद्यालय आउन थालेकी बालिका सधैँ मलिन अनुहारमा आउने गरेको शिक्षकले जानकारी दिएका छन् । ७ कक्षामा पढ्दै गरेकी उनको शरीरमा पनि परिवर्तन देखिन थालेको थियो । एक शिक्षकका अनुसार गत पुसमा एक हप्ता विद्यालय नआएपछि सोधपुछ गर्दा उनी पत्थरीको शल्यक्रिया गरी आराम गरिरहेको परिवारका एक सदस्यले जानकारी दिएका थिए ।
तर, नाबालिक छोरीको पत्थरीको शल्यक्रिया नभई बलात्कारपछि बसेको गर्भपतन गराएकोबारे बालिकाकी मामाघरकी हजुरआमाले विद्यालयमा जानकारी गराएपछि विद्यालय परिवारले यो घटना थाहा पाएको थियो । कालिका नगरपालिकाकी उपमेयर विमला तामाङले घटना प्रहरीमा पहिल्यै दर्ता भए पनि आफ्नो जानकारीमा भर्खरै मात्र आएको बताएकी छन् ।
उनले बालिकाको स्वास्थ्य अवस्थाबारे बुझिरहेको र प्रहरीको समन्वयमा बालिकाको उचित संरक्षणको व्यवस्था गर्ने नेपाल प्रेसलाई जानकारी दिइन् । प्रहरीलाई जाहेरीमा जानकारी गराए अनुसार उनको बाबुले महिनावारी नभएपछि बालिकालाई भरतपुरमा लगेर गर्भपतन गराएका थिए । कुन अस्पतालमा लगेका हुन् भन्ने खुलिसकेको छैन ।








