काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवाली समेतलाई बोलाएर उनले प्रतिवेदनले दोषी देखाएकाहरूलाई कारबाही गर्न भनेका हुन् ।

गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कुनै दबाब र प्रभावमा नपरी कारबाही गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ । जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो । यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ । लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरू गर्न निर्देशन दिएका हुन् ।
सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै पक्राउ गरी कारबाही गर्न सिफारिस भएकामध्ये दिपेश पुन र जीवन गुरुङ पक्राउ परिसकेका छन् । प्रहरी उच्च अधिकारीका अनुसार पूर्व सभामुखसमेत रहेका महरालाई पक्राउ गर्नुअघि प्रधानमन्त्री प्रचण्डसँगसमेत राय लिने काम भएकाले प्रहरी निष्कर्षमा पुग्ने छ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका दुवै छोरा सुन तस्करीमा संलग्न रहेको पनि जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ। आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिएपछि प्रहरी अहिले आयोगको प्रतिवेदन अध्ययन गर्ने र प्रतिवेदनमा उल्लेख भएकाहरूलाई कारबाहीको दायरामा ल्याउन लागि परेको ती सुरक्षा अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia