विराटनगर । नया बन्ने सरकारमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आफू मन्त्री नबन्ने भएका छन्। उनले पार्टी सभापतिलाई आफू सरकारमा नजाने बारे जानकारी गराएको बताए ।
विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफू पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् ।

उनले भने- ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाले अघि भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनु पर्ने काम प्रतिपक्षले मात्रै होईन, सत्ता पक्षले पनि गराउनुपर्छ ।
त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो रो बाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । मेरो भूमिका सांसदको रुपमा रहन्छ ।’ संबिधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने, सबै दलको सहमतिमा मात्र सम्बोधन संशोधन गर्न सकिने समेत महामन्त्री थापा बताए ।








