नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२४ मा नेपाललाई १०० मा ३४ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०७ औं स्थान छ । सीपीआई २०२३ मा नेपाल ३५ अंकसहित १०८औं स्थानमा थियो ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्मा नेपालले प्राप्त गरेको अंकले भ्रष्टाचारविरुद्ध प्रभावकारी रूपले काम-कारबाही अगाडि बढाउन अत्यन्त जरुरी भएको देखिएको बताउँछन् ।दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अंक, भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, नेपालले ३४ अंक, श्रीलङ्काले ३२ अंक, पाकिस्तानले २७ अंक, बङ्गलादेशले २३ अंक र अफगानिस्तानले १७ अंक प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ अंक प्राप्त गरेको छ ।
नेपालको संविधान २०७२ सालदेखि लागू भई तीन तहको सरकार सञ्चालन भएको पनि करिब आठ वर्ष भैसक्दासमेत नेपालमा भ्रष्टाचार कम गर्नेतर्फ सफलता हासिल नभएको अध्यक्ष शर्माको भनाइ छ ।उनी भन्छन्,’यस स्थितिमा सुधार ल्याउन अत्यावश्यक भैसकेको छ, जसका लागि राजनीतिक क्षेत्रको सदाचार प्रतिको प्रतिवद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यावसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न जरुरी देखिन्छ ।’








