नारायणगढ-बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सडकमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले एक सूचना जारी गर्दै सडक यात्रा जोखिमपूर्ण बनेकोले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीका अनुसार, वर्षाका कारण विनयी खोलामा पानीको सतह बढेको छ भने दुम्कीबास–दाउन्ने सडक खण्ड र झ्याउखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने समस्या देखिएको छ। सडक खण्डमा बनाइएका डाइभर्सनमा समेत क्षति पुगेकाले आवागमन असहज बनेको हो।

प्रहरीले नारायणगढबाट मुग्लिङ, पोखरा, स्याङ्जा हुँदै बुटवलतर्फको रुट, काठमाडौँबाट पश्चिम जाने सवारी साधनहरूले– मुग्लिङबाट पोखरा, स्याङ्जा हुँदै बुटवलतर्फको रुट र पश्चिमबाट पूर्व जाने सवारी साधनहरूले बुटवलबाट स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यतर्फ जान अनुरोध गरेको छ ।

यसैगरी, साना सवारी साधनहरूले अवस्थाको मूल्याङ्कन गरी कालिगण्डकी करिडोर अन्तर्गतको गैँडाकोट(पिपलडाँडा सडक खण्ड प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मधु नेपालले अर्को सूचना जारी नभएसम्म उक्त वैकल्पिक मार्गहरू प्रयोग गरी यात्रा सुरक्षित बनाउन सबैमा अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia