
इनरुवा फागुन ३०/सुनसरी जिविसले आगामी आर्थिक वर्षका लागि ५ अरब १५ करोड बढी रकम प्रस्ताव गरेको छ ।
सुनसरी जिविसले २५औं जिल्ला परिषद्बाट पारित गरेको आर्थिक वर्ष २०७३।०७४को वार्षिक जिल्ला विकास योजना सार्वजनिक गर्न आयोजित नीति बजेट तथा सार्वजनिकीकरण कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले आर्थिक वर्ष ०७३।०७४का लागि ५ अरब १५ करोड १५ लाख ४६ हजार २ सय ११ रुपैंया ४५ पैसा बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

जिविस सुनसरीले यसअघिका आवमा संचालनमा रहेका तर अधुरा रहेका बिकासे कामहरुको पूर्णता, प्राथमिकतामा रहेका योजनाहरु संचालन र परिषद्बाट पारित भई आएका योजनाहरुको कार्यान्वयन जस्ता कुराहरुलाई तिव्रताका साथ अघि बढाइने जनाएको छ । कार्यक्रममा मधेशी मोर्चा बाहेकका राजनैतिक दल तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । मधेशी मोर्चामा आवद्ध दलहरुले भने उपप्रधान मंत्रीको कार्यक्रम बहिस्कार गर्ने भन्दै कार्यक्रममा सहभागिता जनाएनन् । मोर्चाले जिविस रोडमा कालो झण्डा प्रर्दशन गर्नुका साथै सरकार विरोधी नारावाजी गरेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक सहित विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।








