चैत्र २०,हरिनगरा सुनसरी/ ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सुनसरीको दक्षिणवर्ती गाविस हरिनगरामा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।जिल्ला सहकारी संघ सुनसरीले आयोजना गरेको कार्यक्रममा जिल्लाभरका सहकारी संस्था आवद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल नाराको साथ पहिलो सुनसरीमा यस किसिमको औपचारिक कार्यक्रम सदरमुकाम बाहिर दक्षिणी ग्रामिण भेगमा आयोजना गरिएको हो ।
कार्यक्रमको सुनसरी क्षेत्र नम्वर ४का सांसद सीताराम मेहताले उद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा सहभागी वक्ताहरुले देशको समग्र विकासका लागि सहकारीताको विकास हुन जरुरी रहेकोमा जोड दिए ।सहकारीले आपसी एकता र आर्थिक पाटोको सवलिकरणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने भएकाले सहकारीको विकासका लागि सरकारले थप प्रभावकारी नीतिहरु संचालनमा ल्याउन जरुरी रहेको औल्याए ।दिवसको अवसरमा जिल्लाको हरिनगरगा गाविसमा जिल्लाका विभिन्न स्थानबाट आएका हजारौ सहकारीकर्मीहरुकोे सहभागितामा रयाली समेत निकालिएको थियो । बाजागाजा र झाँकी सहित निस्केको रयालीले हरिनगरा बजारको परिक्रमा गरेको थियो ।
कार्यक्रममा उत्कृष्ठ सहकारी व्यवस्थापक तथा क्षेत्रगत रुपमा उत्कृष्ठ ठहरिएका सहकारी संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा शुभ लक्ष्मी सहकारी संस्था लिमिटेड , बहुउद्येश्य सहकारी संस्था लिमिटेड ,लाटिदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड , बाशुकीनाथ कृषि सहकारी संस्था लिमिटेड, बीना कृषि सहकारी संस्था लिमिटेड लगायतलाई सम्मान गरिएको जिल्ला सहकारी संघका व्यवस्थापक विन्देश्वर मेहताले जानकारी दिए ।वि.सं २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा त्यसयता हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउदै आइएको छ । सुनसरीमा ६ सय ९० भन्दा बढि सहकारी संस्थाहरु रहेका छन् ।










