काठमाण्डाै । संविधान जारी भएपछि एकाएक बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधारतर्फ अघि बढेको छ। महाभूकम्प र त्यसपछिको नाकाबन्दी लगायत कारणले रोकिएका नेपाल भारत दुईपक्षीय बैठकहरु एक महिनायता धमाधम हुन थालेका छन्। सिँचाइसम्बन्धी सहसचिवस्तरीय बैठक चार साताअघि भयो। लगत्तै सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समितिको बैठक बस्यो। ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा बस्दैछ भने सीमा विवादसम्बन्धी द्विपक्षीय बैठक काठमाडौंमा सकिएको छ।
दुईपक्षीय अन्तरसरकारी समितिको बैठक पनि बस्दैछ। सन् १९५० लगायत दुईपक्षीय सन्धि सम्झौता पुनराबलोकन गर्न बनेको प्रबुद्ध समूहको बैठक पनि सातापछि काठमाडौंमा हुँदैछ। ग्यासलगायत अत्यावश्यक बस्तुको आपूर्तिमा देखिएका समस्या समाधान गर्न दुवै देशका अधिकारी छलफलमै छन्।
पूर्वपरराष्ट्रमन्त्री डा. भेषवहादुर थापालेअहिले देखिएको बैठकको तयारी हेर्दा नेपाल–भारत सम्बन्ध ट्रयाकमा आउन लागेको अनुभूति भएको बताए। ‘भित्री कुरा अझै स्पष्ट देखिएको छैन, सायद हाम्रो स्तरमा जानकारी नभएको होला तर सम्बन्ध सुधारोन्मुख छ,’ उनले भने।भारतले नेपाललाई हिउँदयाममा लोडसेडिङ कम गर्न ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप १ सय २० मेगावाट बिजुली दिने भएको छ।
हाल नेपालले उक्त अन्तरदेशीय लाइनबाट ८० मेगावाट आयात गरिरहेको छ। बिजुली आयात गर्ने, विद्युत व्यापार सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्र बनाउने तथा अन्तरदेशीय प्रशारण लाइन निर्माणलाई तीब्रता दिनेलगायत विषयमा छलफल गर्न दिल्लीमा आइतबार सुरु नेपाल भारत ऊर्जासहितस्तरीय बैठकमा भारतीय पक्षले थप बिजुली दिने बताएको हो।
सहभागी नेपाली अधिकारीका अनुरार भारतीय अधिकारीले हालको ८० मेगावाटलाई बढाएर २ सय मेगावाट बिजुली दिन तयार रहृेको बताएका हुन्। ‘नेपालले जति बिजुली रिसिभ गर्ने क्षमता अभिबृद्धि गर्छ त्यति नै दिन तयार छौं,’ बैठकमा सहभागी एक अधिकारीले भने,‘छिटो पूर्वाधार निर्माण गर्ने चुनौती हाम्रो सामु देखियो।’नेपाली प्रमण्डलका सदस्य विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले आगामी डिसेम्बरसम्म सबस्टेसन क्षमता विस्तार सम्पन्न गर्ने तयारी रहेको बताए। अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।








