विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालले गत त्रैमासमा अपेक्षा गरिएभन्दा उच्च मुनाफा कमाएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार गत वर्षको तुलनामा अप्रिल–जुन त्रैमासमा कम्पनीको मुनाफा १ सय ८६ प्रतिशत बढेको छ । सन् २०१५ को जुन त्रैमासमा ७१ करोड ९० लाख डलर रहेको मुनाफा गत त्रैमासमा बढेर २ अर्ब करोडमा उक्लिएको हो ।
विश्लेषकहरूले जुनसम्मको ३ महीनामा फेसबूकको आम्दानी ५ अर्ब ८० करोड डलर मात्र हुने अनुमान गरेका थिए । तर, सो अवधिमा कम्पनीले ६ अर्ब ४० करोड डलर आम्दानी गरेको छ । कम्पनीको भिडियो व्यवसायले धेरै नै राम्रो आम्दानी गरेको कार्यकारी अधिकृत मार्क जुकरबर्गले बताएका छन् ।
गत वर्षको सोही अवधिमा कम्पनीको विज्ञापनबाट हुने आम्दानीमा ७६ प्रतिशत योगदान थियो भने यस वर्ष ८४ प्रतिशत योगदान दिएको बताइएको छ । पछिल्लो समय टेलिभिजनभन्दा डिजिटल माध्यममा विज्ञापन दिने प्रवृत्ति बढेपछि कम्पनीलाई यसबाट निकै फाइदा भएको छ । दोस्रो त्रैमासमा सबै क्षेत्रमा कम्पनीको आम्दानी बढेको छ । सो अवधिमा एशियाको आम्दानी १९ प्रतिशत र यूरोपमा भने २१ प्रतिशत बढेको छ । एजेन्सी









