काठमाडौं / काँधमा टाउको जत्रै ट्युमर (लिम्फ्याजियोमा) भएको दशदिने शिशुको कान्ति बाल अस्पतालमा सफल शल्यक्रिया भएको छ ।सिन्धुली कपिलाकोट गाविसकी विगामाया स्याङ्तानको छोराको डा. मधुसुदन पन्त नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । बच्चा सिन्धुली अस्पतालमा शल्यक्रिया गरेर निकालिएको थियो । त्यहाँबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । बच्चाकी आमा विगामायाको भने सिन्धुली अस्पतालमै उपचार भइरहेको छ । उनको काँधमा पानी भरिएर ट्युमरको आकार लिएकाले अपरेशन गर्नुपरेको अस्पतालले बताएको छ ।
उनका अनुसार बालकको काँधमा ट्युमर देखिएपछि जिल्ला अस्पताल सिन्धुलीले बालककी आमा विगामायालाई अपरेशन गरेका थिए । अपरेशन पश्चात बालकको काँधमा ठूलै ट्युमर देखिएपछि हजुर आमा तथा बुवा बुद्धराजले उनलाई काठमाडौं ल्याएका थिए ।
कसरी ह्न्छ यस्तो ट्युमर ?
भर्खर जन्मेका बालबालिकामा यस्तो ट्युमर बेला-बेला देखापर्ने कान्ति बाल अस्पतालका चिकित्सक रामानन्द प्रसाद चौधरी बताउँछन् । उनी भन्छन्, ‘शरीरको कुनै-कुनै ठाउँमा अक्सिजनको कमीले पानी जम्न पुग्छ । जसले गर्दा सानो-सानो फोका जम्मा भएर ठूलो ट्युमर विकसित हुन्छ ।’ उनले यस्तै ट्युमर भएका आठ महिनाका अर्का एक बालकको पनि काठमाडौंको इशान अस्पतालमा बुधबारै अपरेशन हुन लागेको बताए । उनले यस प्रकारको अप्रेशनमा बालकको ट्युमरबाट विस्तारै-विस्तारै पानी निकालेर ट्युमरलाई सामान्य अवस्थामा ल्याइने बताए ।
अभिभावक चिन्तामा
आर्थिक अवस्था कमजोर भएकाले बच्चाको उपचारमा धेरै खर्च हुने भन्दै अभिभावक चिन्तित छन् । बच्चाको उपचारमा अहिलेसम्म २५/३० हजार रुपैयाँ खर्च भइसकेको छ र अपरेशनमा थप ३५ हजार रुपैयाँ लाग्ने अस्पतालले बताएको स्याङ्तानले बताए । ‘अझ दश दिन आइसियुमा राख्नुपर्ने भनेकाले पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ता लागेको छ’, बुद्धराजले अनलाइनखबरसित भने, ‘यसो कतैबाट सहयोग पाए बच्चाको उपचार राम्रोसित गर्दथें ।’उनले अहिले गाउँलेको र काठमाडौंमा भएका इष्टमित्रको सहयोगमा बालकको उपचार गरिरहेको बताए । साथै, अस्पतालले बालकको पैसा मिनाहा नगर्ने बताएकाले आफूहरु थप समस्यामा परेको उनले जानकारी दिए । साभार – अनलाइन खबरबाट









