१७ मंसिर, राजविराज दिलिप साह । जिल्लाका हरिपुर गाविस सप्तरी कै पहिलो पूर्ण विद्यालय भर्ना गाविस घोषणा भएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीको समन्वय तथा गाउँ बाल संरक्षण समिति हरिपुरको आयोजनमा उक्त गाविसमा चार वटा सामुदायिक विद्यालयहरु मध्ये एउटा आधारभूत र तीन वटा प्रावि छन ।
यस्तै ५ वटा समुदायमा र ४ वटा विद्यालयमा आधारित गरी ९ वटा बाल विकास केन्द्र रहेका छन । सो गाविसमा ३ देखि ४ वर्ष उमेरका २ सय १८, ५ देखि ९ वर्षका ५ सय ६६, ५ वर्षदेखि १२ वर्षका ८ सय ५९ र १० वर्ष देखि १८ वर्षका बालबालिकाको संख्या ८ सय २५ रहेको आयोजक बताएको छ ।
विद्यालय जाने उमेर समूहका कूल १ हजार २ सय ९७ जना बालबालिकाहरु रहेका मध्ये ३ सय ९४ निजि र ९ सय ३ बालबालिकाहरु सामुदायिक विद्यालयमा अध्ययनरत रहेको जानकारी गराएको छ । हाल गाविसमा १४ जना बालबालिकाहरु मात्र विद्यालय बाहिर रहेको दाबी गरेको छ । यसअघि हरिपुर गाविस जिल्लामै पहिलो खुल्ला दिसामुक्त र पूर्ण खोप गाविस घोषणा भइसकेको छ ।








