२४ मंसिर, कोसीहरैँचा । मोरङको कोसीहरैँचा विराटचोक स्थित गौरीशंकर जी मन्दिरको पुन्यभूमिको आसपासमा कोटिहोम एवम् धान्याचल महायज्ञ यही पुष २० गते देखि हुने भएको छ ।
शुक्रबार आयोजक कोटिहोम एवम् धान्याचल महायज्ञ समारोह समितिले कोसीहरैँचाको त्रिवेणीचोकमा पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो । यही पुष २० गते देखि माघ ५ गते सम्म कोसीहरैँचाको गौरीशंकर जी मन्दिरको पुन्यभूमिमा कोटिहोम एवम् धान्याचल महायज्ञ हुने भएको छ ।
उक्त धार्मिक समारोह अनन्त श्री विभूषित १००८ महा मण्डलेश्वर हेमानन्द गिरी जी महाराजको प्रमुख संरक्षकत्वमा सम्पन्न गर्न मुल समारोह समिति गठन भएको जानकारी गराइएको छ ।
विभिन्न खालका समस्याबाट समाज, देश र विश्व नै पीडित भएको अवस्थामा कोटिहवन आध्यात्मिक वैद्धिक यज्ञद्वारा सम्पूर्ण समस्याहरु समाधानको साथै आत्माशक्तिको जागृत गर्दै शान्ति आनन्द प्राप्त गरेर संस्कृति, संस्कार तथा एकता सहितको मर्यादित समाजको निर्माणका लागि कोटिहोम एवम् धान्याचलको अपेक्षा रहेको छ ।
“समावेशी सहितको सहभागिता धार्मिक सहिष्णुताको लागि आवश्यकता” भन्ने नाराका साथ सबै जातजाति, भाषा, धर्म, संस्कारको प्राप्ति आस्थावान धर्मालम्बीहरुलाई होम गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखि कोटिहोम एवम् धान्याचल महायज्ञमा देश विदेसका करीब १ लाख श्रद्धालु भक्तजनहरुलाई सहभागिता जनाउने वातावरण तयार गरेर गौरीशंकर जी मन्दिरको परिसरमा गौशाला, मन्दिर, एकल महिला वृद्धाआश्रम, औषधालय तथा योगशाला निर्माणको लागि कोटिहोम एवम् धान्याचल महायज्ञ समारोह आयोजना गर्न लागिएको समारोह समितिका अध्यक्ष कमलादेवी अधिकारीले बताईन् ।
गौरीशंकर जी मन्दिरको नाममा दर्ता रहेको २ विघा १० कठ्ठा जमीनको आसपासमा कोटिहोम एवम् धान्याचल महायज्ञ गरेर धार्मिक तथा असल सामाजिक कार्यको माध्यमबाट समाजमा आध्यात्मिक संदेश र चेतनाको प्रवाह गरी सबै जात जाति भाषा धर्मको विकासका लागि यस धार्मिक समारोहको महत्वपूर्ण भूमिका रहने समारोह समितिका सल्लाहकार तथा समाजसेवी लोकप्रसाद संग्रौलाले बताए ।
बृहत रुपमा आयोजना गर्ने लक्ष्य राखिएको कोटिहोम एवम् धान्याचल महायज्ञमा १ करोड २५ लाख श्री गायत्री मन्त्रद्वारा होम गरिने साथै यस पवित्र भूमिमा धान्याचल समारोह समेत गर्ने निर्णय गरी सबै पक्षका व्यक्तित्वहरुको सहभागितामा यस क्षेत्रलाई तीर्थस्थलको रुपमा परिचित गरी हिन्दु धर्मको एकता जगेर्णा र सामाजिक विकासको चाहना अनुरुप अन्य विविध धार्मिक कार्य तथा आध्यात्मिक संदेशका लागि कोटिहोम एवम् धान्याचल महायज्ञ आवश्यक हुने अनन्त श्री विभूषित १००८ महा मण्डलेश्वर हेमानन्द गिरी जी महाराजले जानकारी गराईन् ।








