११ माघ, इटहरी । पुर्वमा खसीको मासुका लागि प्रख्याती कमाएको सुनसरीको झुम्का बजारमा सुविधा सम्पन्न व्यवस्थित बधशाला भवन निर्माण भैरहेको छ । मासुका पारखीहरुको पहिलो रोजाईमा पर्ने झुम्कामा ताजा र स्वस्थ्य मासु पाइने उपभोक्ताहरुले विश्वास गर्दै आएका छन तर सडक किनाराको नाला नजिकै रहेका मासु पसलहरुमा झिगाँ भन्कीने गरेको तर्फ मध्यनजर गर्दै निर्माण भइ रहेको बधशाला आगामी वैशाख देखि सञ्चालनमा आउने भएको हो ।
उपभोक्ताहरुको चापलाई मध्यनजर गर्दै व्यवस्थित मास पसलहरु सञ्चालनमा ल्याउने उद्धेश्यले पशुपन्छी बजार प्रवन्ध निर्देशनालय रामधुनीभासी नगरपालिका र ओल्र्डभिजन नेपालको साझेदारीमा उक्त भवन निर्माण भई रहेको नगरपालिकाका योजना शाखाका प्रमुख हर्षलाल चौधरीले जानकारी दिए । १ करोड बढिको लगानीमा ३ कट्ठा जमिनमा निर्माण भैरहेको पशु बधशाला भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।
पशु बधशालालाई ब्यवस्थित र उपभोक्तालाई स्वस्थ मासु खरिद गर्ने व्यवस्था मिलाउने उद्देश्य राखेर निर्माण भई रहेको भवनमा आधुनिक स्लटर मासु भण्डारण अर्थात चिस्यान उपकरण लगायत भवनको भुईमा टायल मार्वल राख्ने कार्य भैरहेको समेत चौधरीले बताए ।
सुविधा सम्पन्न खसी काट्ने बधशाला र मासु पसल सञ्चालनमा ल्याएपछि मासुका लागि आउने उपभोक्ताहरुको संख्यामा पनि वृद्धि हुने विश्वास गरिएको छ ।
झुम्कामा अहिले पनि सुनसरीका इनरुवा, इटहरी ,तरहरा, धरान लगायतका ठाउँहरुवाट उपभोक्ताहरु मासु खरिदका लागि आउने गरेका छन । स्वस्थ्यकर खसीको मासुका लागि व्यवस्थित रुपमा बधशाला सञ्चालनमा आएपछि अन्य ठाउँ सम्मका बजार सम्म पुर्याउन सकिने समेत विश्वास गरिएको छ । बधशालाको निर्माण सम्पन्न भैसकेपछि झुम्का क्षेत्रमा मासु जथाभावी काट्न नदिने समेत जनाइएको छ ।









