जाडो मौसममा रुघाखोकी, निमोनिया,दम, ब्रोंकाइटिस, चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया आदिले बालबालिकालाई एकदम छिटो असर गर्दछ । तसर्थ निम्न कुराहरुमा ध्यान दिऔंः
१. सकभर सफा तथा न्यानो कपडा लगाइदिने । कान, नाक, तालु, घांटी र छातिमा अझ न्यानो कपडा लगाइदिने ।
२. घाम लागेको समयमा घाममा राख्ने ।
३. घाम नलागेको समयमा न्यानो बिस्तारा वा आगो र हिटर आदि भएको ठाउँ नजिक राख्ने ।
४. बाहिर कोइला रातो हुनेगरी बालेपछि बच्चालाई सेकाउने, तेल घस्ने अनि सुत्ने बेलामा कोइला बाहिर राख्ने ।
५. हावा छिर्नको लागि अलिकति झ्याल खुला राख्ने ।
६. नवजात शिशुलाई कंगारुले आफ्नो बच्चालाई छातीमा टाँसे जस्तै टाँसेर सुताउने ।
७. पटकपटक दुध, मनतातो पानी तथा झोलिलो खाने कुरा खुवाइरहने ।
८. रुघाखोकी लागेमा बेसार, ज्वानो, अदुवा, तुलसीको पात तथा कागतीको रस राखेर पानीमा पकाएर खुवाइरहने ।
९. छाती, घांटी. निधार, तालु तथा अन्य शरीरमा तेलमा थोरै भिक्स मिसाएर मालिस गर्ने ।
१०. चिसो हावा, चिसो खानेकुरा खान नदिने ।
११. शरीरको तापक्रम सन्तुलन गर्न दुध, गेडागुडीको रस, दाल, मासुको रस, तातो पानी तथा अन्य पौष्टिक आहार खुवाउने ।
१२. ज्वरो, रुघा, खोकी लागेमा सामान्य सिटामोलको झोल खुवाउने । मौसमी रुघाखोकीमा एन्टिबायोटिकको जरुरी हुँदैन ।
१३. ज्वरो आएकोबेला मनतातो पानीपट्टी लगाउने । चिसो पानीको पट्टी नलगाउने, यसले एक्कासी शरीरको तापक्रम घटाएर झन् खतरा हुनसक्छ ।
१४. तीन दिनसम्म ज्वरो नियन्त्रण नभए, लगातार खोकी लागे, सास फेर्न गाह्रो भएमा तुरुन्त आफ्नो चिकित्सकसंग स्वास्थ्य परीक्षण गराउने ।
१५. कोखा हानेमा, ओँठ तथा औंला निलो भएमा, एकोहोरो घ्यारघ्यार भएमा, शरीर चिसो भएमा तुरुन्त नजिकको अस्पतालको आकस्मिक कक्षमा पुर्याउने ।
पुर्वेलिन्युजबाट









