
अमर काफ्ले २७ सुनसरी /विभिन्न जिल्लाहरुमा औषधीको अभाव बारेको समाचार बाहिरी रहँदा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा औषधी अभाव नरहेको जानकारी गराएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले आज इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला अस्पतालका साथै मातहतका कुनैपनि स्वास्थ्य संस्थाहरुमा औषधी अभाव नरहेको जनाएको हो ।
सरकारले निशुल्क उपलब्ध गराउने भनिएका सबै औषधीको उपलब्धता नभएपनि बढी मात्रामा आवश्यक पर्ने औषधी भने पर्याप्त रहेको कार्यालयले जनाएको छ । हालको मौज्जातले एक महिना धान्ने र थप खरिद प्रकृया सुरु भैसकेकाले बढीमा दुई महिना जिल्लामा औषधी अभाव नदेखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । केन्द्रबाट प्राप्त हुने औषधी समयमै उपलब्ध नभए त्यस पश्चात भने जिल्लाभर एकसाथ औषधीको अभाव सीर्जना हुनसक्ने जनस्वास्थ्य प्रमुख मुकुन्द गौतमले जानकारी दिनुभयो ।








