काठमाडौं, २५ असार । भक्तपुर र काभ्रेको सिमाना साँगा भज्यांगसम्म साझा यातायात सञ्चालनमा आएसँगै यसलाई धुलिखेल–पनौतिसम्म सञ्चालन गर्ने तयारी सुरु भएको छ । काभ्रेका तीनवटा नगर धुलिखेल, बनेपा र पनौतीका जनप्रतिनिधिले त्यस्तो प्रयास थालेका हुन् । काभ्रेका तीनवटै नगरका प्रमुखले साझा यातायातलाई कसरी काभ्रेमा भित्र्याउन सकिन्छ भनेर पहल गरेको बताए । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जूले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितसँग धुलिखेलसम्म साझा कसरी ल्याउन सकिन्छ भनेर छलफल चलाएको बताए ।
जनताका लागि सीधा र सरल रूपमा यातायात कसरी सञ्चालन गर्न सकिन्छ भनेर मेरो प्रयास रहेको छ । साँगासम्म आएको साझा यातायातलाई धुलिखेलसम्म ल्याउन साझासमेत सकारात्मक देखिएको ब्यान्जूले बताए । उनले अब धुलिखेल नगरपालिका, स्थानीय यातायात व्यवसायीसँगको समन्वयमा सबैको साझा लगानीमा साझा यातायात सञ्चालन गर्न सकिने दीक्षितले बताएको पनि सुनाए । ब्यान्जूले साझालाई कसरी धुलिखेलसम्म ल्याउन सकिन्छ भन्नेबारे आफू लागेको र सबैको अपनत्व हुने तरिकाले साझालाई धुलिखेलसम्म ल्याउने बताए ।
पनौती नगरपालिका प्रमुख भीम न्यौपाने आम जनताको आवश्यकता र चाहनाअनुसार काम गर्ने भएकाले जनताले साझा यातायात चाहेको र आवश्यकता समेत रहेकाले आफूहरूले साझालाई पनौतीसम्म कसरी ल्याउन सकिन्छ भनेर तयारी थालेको बताए । साझाले दिएको सुविधाले सबैलाई आकर्षण गरेकाले आफूहरू साझालाई पनौतीमा कसरी ल्याउने भनेर छलफलमा जुटेको न्यौपाने बताउँछन् ।
‘हामीले साझासँग पहिलो चरणको कुरा गरेका छौं, सबैको साझा लगानीमा हामीले पनौतीसम्म कसरी साझालाई चलाउन सकिन्छ भनेर तयारी थालेका छौं,’ प्रमुख न्यौपानेले सुनाए । साँगासम्म साझा सञ्चालन भएकाले अब पनौतीसम्म ल्याउन सकेनाैं भने काठमाडौंसँगको दूरी समेत टाढा हुने भएकाले साझालाई जसरी भए पनि पनौतीसम्म ल्याउन सबैको सहयोग आवश्यक रहेको उनले बताए ।अाजको राजधानी दैनिकमा खबर छ।








