इनरुवा /हिंसाजन्य घटना सहने प्रवृतिले हिंसाका घटनालाई थप बढावा दिदैं गएको सरोकारवालाहरुले बताएका छन् । विशेषगरी ग्रामिणी भेगमा हिंसा लुकाउने प्रवृति कायमै रहेको उनिहरुले बताएकाहुन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको लैङ्गिक हिंसा समवन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रको वार्षिक समिक्षा गोष्ठीका सहभागि सरोकारवालाहरुले त्यस्तो धारणा राखेका हुन् ।
डर,त्रास र विभिन्न खाले दवावमा घटना लुकाउन बाध्य पारिने क्रम रोकिन नसकेकाले धेरैजसो हिंसाका घटना बाहिर आउन नसकेको र लुकाउने प्रवृति बढ्दै गएको अधिकारकर्मीहरुको भनाई छ । राजनैतिक दबाव सँगै ग्रामिणी भेगमा प्रभुत्व वर्गको उपस्थितीमा हुने पञ्चायतीले हिंसा कम गर्नुका साटो तत्कालकालागि हिंसाका घटना दबाउने र त्यसले दीर्घकालिन असर निमत्याउने भएकाले कार्यक्रममा सो तर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको थियो ।
कार्यक्रममा अस्पतालमा आधारित ओसिएमसी सेवा प्रवाहको विगत र वर्तमानको अवस्था, चुनौति र सम्भावनाका बारे ओसिएमसी इनरुवा प्रमुख मिना भण्डारीले जानकारी गराउनुभएको थियो ।कार्यक्रममा दिइएको जानकारी अनुसार बढी मात्रामा १४ देखि ४९ वर्ष सम्मको उमेर समूहका युवति तथा महिलाहरु गोप्य परामर्श तथा विभिन्न खाले सेवा लिन आउने गरेका छन् ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सबैखाले हिंसाको अन्त्यकालागि सबैले आआफ्नो स्थानबाट समन्वय र सहकार्य गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नगरपालिका मातहतमा आएको अस्पतालको वृद्धि विकासमा कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको थियो ।











