निर्वाचन भएको १ महिनामा बजेट प्रस्तुत गर्ने तयारी गरेको विराटनगर महानगरपालिकाले थप १५ दिन समय लाग्ने बताएको छ । बजेट निर्माणको तयारीमा लागेका नव निर्वाचित मेयर तथा वडाध्यक्षहरूले अहिले विषयगत कर्मचारी तथा विज्ञहरुसँगको छलफल तीब्र पारेका छन् ।
सरकारले दिने सशर्त अनुदान, अनुदान र अन्य विषयगत बजेटको विनियोजन कसरी गर्ने भन्ने विषयमा निरन्तर छलफल गरिरहेको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बताउनुभयो । बजेट विनियोजनका लागि कार्यविधि पारित गरिसकेको बताउँदै उहाँले विभिन्न अर्थ लगायत ६ वटा समिति निर्माण गर्ने र सोही समितिसँगको छलफलमा बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।
माहानगरले विभिन्न विज्ञहरु सम्मिलित एउटा विज्ञ समिति निर्माण गर्ने तयारी गरेको छ । विकास निर्माणका लागि तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजनाहरु निर्माणका लागि विज्ञहरुको आवश्यक पर्ने भन्दै महानगरले उक्त समिति निर्माण गर्न लागेको हो । जुन समितिमा उद्योगी, व्यापारी, अर्थ विज्ञ, योजनाविद्, भाषा संस्कृति, शिक्षा र स्वास्थ्यलगायतका विषयका विज्ञलाई राखिने पराजुलीले बताउनु भयो । बजेटले तत्काल देखिएका खाल्डाखुल्डीको समस्या देखि १० वर्षपछिको विराटनगर कस्तो हुने भन्ने परिकल्पना गर्ने पराजुलीको भनाइ छ ।









