१ भाद्र, इनरुवा । बाढीका कारण सुनसरीमा यस पटक धान उत्पादनमा कमी आउने देखिएको छ । बाढीको पानीले धानबाली डुवान गरिरहेको तथा भर्खर रोपीएको रोपा बगाएका कारण धान उत्पादनमा हस आउने अनुमान गरिएको हो । जिल्लामा अघिल्लो वर्षको तुलनामा २५ देखि ३० प्रतिशत सम्म धानको उत्पादनमा कमी आउने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका प्रमुख राजकान्त झाले जिल्लाका दक्षिणवर्ती क्षेत्रमा बाढीको पानी अहिले पनि जमि रहेको तथा केही रोपा बगाएका कारण पनि धान उत्पादनमा कमी आउने अनुमान गरिएको वताए । सुनसरीमा ५३ हजार हेक्टरमा धान खेती लगाइएको दक्षिणी क्षेत्रमा अहिले पनि डुवानमा रहेको भएपनि सुख्खा हुन थालेका ठाँउहरुमा किसानहरुले पुन रोपाई गर्न थालेको समेत झाले जानकारी दिए ।
सुनसरीमा यस पटक धान रोपाई साउनको अन्तिम साता मात्र सम्पन्न भएको थियो । स्थानीय निकायको निर्वाचन तथा ढीलो गरी भएको वर्षाका कारण धान रोपाइ ढिलो भएको थियो । ढिलो रोपाइ गरिएका कारण समेत पनि उत्पादनमा कमी आउने अनुमान गरिरहेको समयमा बाढीले थप नोक्सानी गरेका कारण धान उत्पादनमा कमी आउने अनुमान गरिएको हो । त्यसै गरी बाढीले सुनसरीमा तरकारी बालीलाई समेत नोक्सानी पुर्याएको छ ।
तरकारी उत्पादनका दृष्टिकोणले मुलुकै अग्रेणी स्थानमा पर्ने सुनसरीका किसानहरुले लगाएका मौषमी तथा बेमौषमी तरकारीबालीमा समेत ठुलो क्षति पुगेको कृषि कार्यालयले जनाएको छ । सुनसरीमा ९हजार २सय हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबालीमा क्षति पुगेको बताइएको छ । केही वर्ष यता देखि किसानहरुले नगदेबालीको रुपमा लगाउन थालेको केरा खेतीलाई समेत बाढीले क्षति पुर्याएको कृषि कार्यालयले जनाएको छ । सुनसरीमा १सय ३५ हेक्टरमा केरा खेती लगाइएको छ । त्यसै गरि व्यवसायी रुपमा गरिएको माछा पालनलाई समेत बाढीले क्षति पुर्याएको छ । पोखरी भत्कीएर माछाहरु बगाउदा किसानहरुले नोक्सानी बेहोर्नु परेको गुनासो गरेका छन ।








