३ भाद्र, विराटनगर। बाढी र डुवानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द भएको विराटनगर विमानस्थल अाजदेखि आंशिकरुपमा सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
धावनमार्गको हिलो र पानीको सरसफाई सकिएपछि शनिबारदेखि दिवा सेवाका उडान गर्न योग्य भएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । ‘विमानस्थल सञ्चालन गर्न आधारभूत सुविधाहरु तयार भएकाले शनिबार विहान ९ बजेदेखि विमानस्थल पुनः सञ्चालन हुनेछ ।’ महानिर्देशक गौतमले भने ।
विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण बाँकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । ‘विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न विभिन्न उपकरण मर्मत, नयाँ जडान लगायतका काम गर्न समय लाग्ने भएकाले हाललाई विहान सूर्योदयपछि र बेलुका सूर्यास्तअघिसम्म मात्र विमानस्थल सञ्चालन हुनेछ ।’ प्राधिकारणका विराटनगर प्रमुख सुरेशमान सिंहले भने ।
शनिबार सौर्य र यति एयरलाइन्सले उडान गर्ने भएका छन् । बुद्धले आइतबार र नेपाल वायुसेवाले सोमबारदेखि उडान गर्ने जानकारी दिएका प्राधिकरणले जनाएको छ । बाढी र डुवानबाट विमानस्थल क्षेत्रमा १० करोड बराबरको क्षति भएको बताइएको छ । विमानस्थलस्थित हवाई डिपोमा समेत पानी पसेकाले यहा उडान भर्ने जहाजले अन्यत्रबाटै इन्धनको जोहो गर्नुपर्ने भएको छ ।











